अमेरिकी डलरको मुल्य ऐतिहासिक उचाइमा, अर्थतन्त्रमा कस्तो असर पर्ला ? « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

अमेरिकी डलरको मुल्य ऐतिहासिक उचाइमा, अर्थतन्त्रमा कस्तो असर पर्ला ?



काठमाडौं । केही समय स्थिर रहेको अमेरिकी डलरको मूल्य इतिहासमा अहिलेसम्मकै उच्च भएको छ । दिनप्रतिदिन डलरको मुल्यले दैनिक नयाँ रेर्कड बनाउदै आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउले नयाँ उचाइ छोएको छ । नेपालीले १ डलर साट्नको लागि १३२ रुपैयाँ ५४ पैसा खर्च गर्नुपर्ने भएको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।

अमेरिकी डलरको नेपाली मूल्यले आज नयाँ इतिहास कायम गरेको हो । डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ । डलर बलियो हुँदै जाँदा यूकेको पाउन्ड स्टर्लिङसमेत कमजोर भएको छ ।


पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै जाँदा भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि मुल्य घटेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ ।

अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर । भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो ।

सरकारले नेपाली रुपैयाँलाई भारतीय रुपैयाँसँग स्थिर विनिमय दर (भारु १ बराबर नेरु १.६) कायम गरेको छ । पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारू कमजोर भइरहेको हो।

डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ । डलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ ।

हाल विदेशमा झन्डै ६० लाख नेपाली विदेशमा छन् । उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।

यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ । डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ । यसले निर्यात बढाउन सहयोग मिल्छ ।

डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ । यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पार्छ ।


नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ । आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ । अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ ।

२०१७ यता लगातार डलर भन्दा बलियो रहेको युरो पछिल्लो १/२ महिना यता भने कमजोर बनेको छ। बिहीबार युरो एकको खरिद मुल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मुल्य १३० रुपैयाँ २४ पैसा रहेको छ । अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुकले डलरलाई रिजर्भ पनि राख्ने गर्छन्।

यसकारण पनि अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्छ । असोज १ गते एक अमेरिकी डलरको बिक्रीदर १ सय २७ रुपैयाँ ८९ पैसा र खरिद दर भने १ सय २७ रुपैयाँ २९ पैसा पुगेको थियो।

यो दर क्रमशः बढ्दै गएर एक महिनाको अन्तरालमा डलरको मूल्य १ सय ३३ रुपैयाँले नाघेको छ । यसरी डलरको मूल्य बढ्दै गर्दा नेपाली रुपैयाँको अवमूल्यन भएको छ ।

पछिल्लो समय युरोपेली मुलुकहरूको अर्थतन्त्र कमजोर हुदै गएकाले अमेरिकाको मुद्रा बलियो हुन थालेको हो कि भन्ने पनि बुझाई छ । खासगरी जर्मन, बेलायतको अर्थतन्त्र कमजोर हुन थालेको छ ।

यसैगरी डलर बलियो हुँदा मुलुकले एसियाली विकास बैंक, विश्व बैंक लगायतलाई तिर्ने ऋणको साँवाब्याज भुक्तानीमा प्रभाव पर्छ ।

डलर सस्तो हुँदा कम नेपाली मुद्रा तिरे पनि पुग्छ । तर डलर बढी हुँदा बढी रुपैयाँ खर्चिनुपर्छ । यसो हुँदा ऋणको व्ययभार बढ्ने भएकाले केही घाटा यसबाट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्