एक वर्षमै करिब ६ अर्बको भाइ मसाला खान्छन नेपाली, तपाइँको भाइ मसलामा भएका वस्तु कहाँबाट आउँछ ? « Arthapath.com
८ कार्तिक २०७९, मंगलवार

एक वर्षमै करिब ६ अर्बको भाइ मसाला खान्छन नेपाली, तपाइँको भाइ मसलामा भएका वस्तु कहाँबाट आउँछ ?



काठमाडौं । नेपालीहरुको अर्को महान पर्व तिहार सुरु भएको छ । परम्परागत रुपमा नेपालमा काग तिहारको दिनबाट यम पञ्चकको सुरुआत हुने गरेको भए पनि केही वर्षयता धनतेसर भनेर समेत मनाउन थालिएको छ ।

श्री सम्पत्ती र ऐश्वर्यको कामना गर्दे विष्णुमाया रमा अर्थात् देवी महालक्ष्मीको पूजा आरधना गर्ने तिहारको एउटा प्रचलन हो । यसबाहेक पनि तिहारका थुप्रै तर बेग्लाबेग्लै संस्कृति गाँसिएको छ । काग, कुकुर, गाई, गोरुजस्ता जनावर र पंछीको पूजा गर्ने अर्को पाटो छ ।

औंशीको अँधेरी रातमा दीपावली गरेर उत्सव मनाउने अर्को प्रचलन छ । द्यौसी, भैलोजस्ता सामाजिक उत्सव पनि सँगसँगै छन् । देवीको आरधना गर्ने र आफ्नो सम्पत्तीको पूजा गर्ने अर्को परम्परा छ । अन्तिममा दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिने प्रचलन छ । सूर्यका सात रंगजस्तै सप्तरंगी टीका लगाइदिएर आफ्ना दाजुभाइहरु सूर्यजस्तै तेजोमय, साहसी, नेतृत्वदायी, कर्तव्यपरायण र आरोग्य रहिरहोस् भनेर कामना गर्छन् । अन्य पर्वहरुजस्तो एकै विषयमा केन्द्रित छेन तिहार । यसको अर्को रौनक हो, भाइमसला ।

हिन्दु समाजमा यस्ता पर्व उत्सवहरुले आपसी सम्बन्ध र भाइचारालाई बढाउनमात्रै मद्दत गरेका छैनन्, मान्छेको शरीरलाई चाहिने आवस्यक पौष्टिक तत्वको आपूर्तिलाई पनि ख्याल गरेको पाइन्छ । जनैपूर्णीमामा क्वाती, तिजमा खिर र दशैंमा मासु खाएजस्तै तिहारका आफ्नै परिकार छन् । यसमा पनि दिदीबहिनीले दाजुभाइलाई ख्वाउने भाइ मसलाको महत्व अलग्गै छ ।

हिउँदमा चिल्लोचाप्लो र प्रोटिनयुक्त खाना खुवाएर दाजुभाइलाई रोग प्रतिरोधी र बलवान बनाउने ध्येय भाइमसलामा देखिन्छ । दशैंमा मांसाहार प्रेरित गर्ने भए पनि तिहारले शाकाहारी पौष्टिक खानाहरुको प्रबद्र्धन गरेको छ । परम्परागत रुपमा स्थानीय स्तरमा उपलब्ध हुने तागतिला परिकारहरु समेटेर भाइमसला तयार पारिन्थ्यो । पछिल्ला केही दशकमा संचार र यातायातमा भएको सुधारले हाम्रा गाउँगाउँलाई विशाल अन्तरराष्ट्रिय बजार श्रृङ्खलामा जोडिदिएको छ । यसले गर्दा पछिल्ला वर्षमा आयातित बिज तथा फलफूलहरु राखेर भाइमसला तयार पार्न थालिएको छ ।

तिहारलाई महँगो पार्न र देशलाई ब्यापार घाटाको दलदलमा फसाउन मद्दत गरेको भए पनि यस्ता वस्तुको आयातले भाइमसलालाई पहिलेभन्दा राम्रो र मीठो चाहीँ पारेको छ । यो मीठो स्वादका लागि देशले वर्षेनी करोडौं रुपैयाँ विदेश पठाउनु पर्ने बाध्यता भने हट्ने होइन, बढ्ने काम भएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि गत भदौ मसान्तसम्म १० अर्बभन्दा बढीका यस्ता वस्तुहरु आयात भएको छ, जो भाइमसलामा प्रयोग हुन्छन् । यसबीचमा नेपालले सबैभन्दा बढी पैसा सुपारी आयातमा खर्चिएको छ । गुट्खाजस्ता हानिकारक वस्तु उत्पादनमा प्रयोग हुने भएकाले सुपारकिो खपत नेपाभित्रै पनि बढी छ । यसको अबैध निर्यात पनि भइरहेको भनेर प्रश्न उठ्ने गरेका छन् । तिहारमात्रै नभएर यस्ता थुप्रै कारणले नेपाभित्रै पनि राम्रै स्तरमा उत्पादन हुने सुपारीको आयात बढी देखिएको हो ।

वितेको १४ महिनामा नेपालले इण्डोनेसिया, भारत, म्यानमार र माल्दिभ्सबाट २ अर्ब ९२ करोडको सुपारी आयात भएको देखिएको छ । यद्यपि, यसको मूल स्रोत इण्डोनेसिया हो । मूल्यका हिसाबले सुपारीपछि काजुको आयात बढी भएको छ । यसबीच भारत, मोजाम्बिक, भियतनाम, नाइजेरिया, अस्ट्रेलिया, चीन, हङकङ, जापान, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आयात भएको देखिएको छ ।

देशी बदाम बनिने आल्मोण्ड पनि ९४ करोड १९ लाखभन्दा धेरैको आयात भएको छ । यो भारत, अमेरिका र अफगानिस्तानबाट आएको देखिन्छ । नेपालमा खेतिको राम्रो संभावना भएको ओखर किन्न हामीले यसबीचमा ७७ करोड ८८ लाख रुपैयाँ चीन, हङकङ, भारत र अमेरिकालाई तिरिसकेका छौं । सुकुमेल नेपालमा ग्वाटेमालाबाट आयात हुन्छ । मेक्सिकोदेखि दक्षिणतिरको यो मुलुकबाट साढे ७८ करोडभन्दा बढीको सुकुमेल एक वर्षकै अन्तरालमा किनिएको छ । थोरै सुकुमेल छिमेकी भारतबाट पनि किनिएको छ ।

भाइमसलाको अर्को मीठास हो, नरिवल । यसबीचमा भारत, मलेसिया, इण्डोनेसिया, नाइजेरिया, श्रलिंका र ताइवानबाट समेत झण्डै ६५ करोडको नरिवल आयात भएको तथ्यांक भन्सार विभागले दिएको छ । गरम मसला र भाइमसला दुबैमा उस्तै प्रयोग हुने दालचिनी हामीले चीन, भारत र श्रीलंकाबाट ल्याइरहेका छौं । यसबीचमा साढे १६ करोडको दालचिनी आयात भएको तथ्यांक छ ।

खाना वा खाजा खाइसकेपछि मुख मीठो पार्न खाने सुप पनि तिहारमा राम्रै खपत हुन्छ । त्यसो त, यो सुप रेस्टुरेण्ट र होटेलहरुमा बाह्रैमास उपभोग भइरहेको हुन्छ । यस्तो सुप आयात गरेर पनि नोपलले १४ महिनामा लगभग १४ करोड नै सिध्याएको छ । हाम्रा बारीमा फल्ने बदाम पनि आयात नगरी खान पुग्दैन । यो वर्ष भारत, थाइल्याण्ड, क्यानडा, चीन, टर्की, कोरियाबाट ११ करोड ८१ लाखको बदाम आयात भएको छ ।

नेपालमा खासै उत्पादन नहुने मसला हो, ल्वाङ । वितेको १४ महिनामा नेपालले भारत, इण्डोनेसिया, मादागास्कर, श्रीलंका र कोमोरसबाट ११ करोड ७ लाखको ल्वाङ आयात गरेको छ । पिस्ता पनि परिमाणमा धेरै आउँछ । तर मसलाका अन्य सामग्रीको तुलनमा यसको भाउ सस्तो पर्ने भएकाले आयात थोरै भएको देखिन्छ । गत वर्ष चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट ९ करोड ३९ लाखको पिस्ता आयात भएको छ ।

छोकडा नेपालका लागि दुर्भागय नै भएको छ । पहाडदेखि हिमालसम्म भाइमसलामा अरु चिज नपुग्दै नरिवल र छोकडा पुगिसकेका थिए । उष्ण वातावरणमा उत्पादन हुने यी वस्तु नेपाली समाजमा निकै रुचाइएका छन् । तर पछिल्ला वर्षमा छोकडाको तस्करी हुन थालेको भनेर सरकारले यसको आयातमै रोक लगाइदिएको थियो । यसले छोकडा आयात केही कम भएको छ । यद्यपि, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, ट्युनिसिया, भारत र साउदी अरबबाट समेत नेपालमा ६ करोड ३८ लाखको छोकडा आयात भएको तथ्यांक छ । धेरै देशबाट आयात भएको देखिए पनि नेपालले अधिकतर छोकडा पाकिस्तानसँग किन्छ ।

चिसोबाट जोगाउने औषधिकै रुपमा प्रयोग हुने जाइफल पनि भाइमसलामा राख्ने चलन थियो । पीरो स्वादको यो फल धेरैलाई मन नपरेर हुनसक्छ, अचेल यसको चलन हराउँदै गएको छ । तर नेपालमा जाइफलको आयात भने घटेको छैन । गत वर्ष भारत, इण्डोनेसिया र श्रीलंकाबाट ४ करोड ६९ लाखको जाइफल आयात भएको छ । मसलामै समेटिने अर्को वस्तु अञ्जिरको आयात भने बढ्दो छ । गत वर्ष भारत, अफगानिस्तान, हङकङ र बेलायत ३ करोड ३४ लाखको अञ्जिर आयात भएको देखिन्छ ।

यसबाहेक किसमिस, मखना, खुर्पानी, अलैंचीजस्ता मसालेदार वस्तु पनि भाइमसलामा राख्ने गरिन्छ । शारीरिक ऊर्जा बढाउन उत्प्रेरित गर्ने मिश्री पनि भाइमसलामा छुटाइँदैन । अचेल विभिन्न चकलेटहरु पनि राख्ने प्रचलन सुरु भएको छ । भन्सार विभागले अनेकौं बिज तथा सुख्खा फलहरु ब्यापक मात्रामा आएको तथ्यांक देखाए पनि अस्पष्ट आँकडा भएकाले के चिज कहाँबाट आयो भन्ने एकिन छ्रैन । यसर्थ माथि उल्लेख भएकै कतिपय वस्तुको वास्तविक आयात यहाँ भनिएभन्दा धेरै पनि हुनसक्छ । सरकारले प्रतिबन्धित वस्तुलाई समेत ‘अन्य’ शीर्षकमा आयात गर्न छुट दिइरहेको भनेर ब्यापारीले नै गुनासो गर्दै आएका छन् ।

एकातिर प्रतिबन्ध लगाउने, अर्कातिर आँखा चिम्लेर आफ्ना स्वार्थ मिल्ने ब्यापारीलाई आयात गर्न छुट दिँदा यसले बजारमा महँगी बढाउने र अप्रतिस्पर्धी बजार सिर्जना गर्न सघाएको छ । तर यसले बजारमा सामानको उपलब्धता बढाउन र उपभोक्तालाई खोजेको वस्तु किन्न पाइने सुविधा भने दिएको छ । त्यो पनि महँगो लागतमा ।

गत वर्षको साउनदेखि वितेको भदौसम्म भाइमसलामा राखिने केही वस्तुको आयात :


प्रतिक्रिया दिनुहोस्