कृषिमा नवप्रवर्तन : डायल एक्सिलेटरको डेमो डेमा कृषकलाई सघाउने ७ परियोजना प्रस्तुत

ललितपुर । ‘डायल एक्सिलेटर : डिजिटल इनोभेशन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स’ मा कृषकलाई सघाउने उत्कृष्ट ७ कम्पनीका परियोजनाहरूले सोमबार आफ्नो मोडल प्रस्तुत गरेका छन् ।
स्विस सरकारको विकास सहयोगसँग मिलेर आद्यन्त फन्ड म्यानेजमेन्टले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ‘दैलो कृषि’, ‘आर एन्ड डी सोलुशन्स’, ‘एग्रिबाटो’, ‘डा फिस’, ‘पिक एन्ड ड्रप’, ‘थोप्लो मेशिन’ र ‘प्लान्ट स्याट’ जस्ता कम्पनीहरूले कृषि तथा आपूर्ति क्षेत्रमा प्रविधिको प्रयोगमार्फत कृषकहरूलाई सहयोग गर्ने परियोजनाहरूको प्रस्तुति दिएका थिए ।
यी सातवटै कम्पनीलाई विगत केही महिनादेखि मार्गनिर्देशन तथा तालिम प्रदान गरिएको थियो ।
डायल कार्यक्रममा सहभागी कम्पनीका प्रतिनिधिहरूले आफ्ना योजनाका सम्भावना र आवश्यक लगानीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा ‘दैलो कृषि’ले प्रविधिको प्रयोगमार्फत किसानबाट स्थानीय रूपमा उत्पादित कृषि सामग्री उपभोक्ताको घरदैलोमा पु¥याउने योजना प्रस्तुत ग¥यो। यसले किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने र ग्राहकले सामानको गुणस्तरमा शंका नगर्ने अवस्थाको लक्ष्य राखेको छ ।
‘आर एन्ड डी सोलुशन्स’ले ‘एग्रि नेपाल’ एपमार्फत ‘माटोदेखि बजारसम्म’ भन्ने नाराका साथ कृषि उत्पादनको प्रवद्र्धन गर्ने जानकारी दिए ।
त्यस्तै, ‘एग्रिबाटो’ले किसानलाई थोक व्यापारीसँग जोड्ने एपको प्रस्तुति दियो, जसमार्फत किसानहरूले सोझै खरिदकर्तासँग सम्पर्क गर्न र बजार मूल्यको रियल-टाइम अपडेट लिनसक्ने छन् ।
‘डा. फिस’ले माछापालक किसानका लागि पानीको गुणस्तर मापन र माछामा लाग्न सक्ने सम्भावित रोग पहिचान गर्न सहयोग गर्ने उपकरणबारे जानकारी गरायो ।
पाँच वर्षदेखि कृषि आपूर्ति क्षेत्रमा सक्रिय ‘पिक एन्ड ड्रप’ले सामाजिक सञ्जालमा आउने अर्डरलाई अटोमेसन प्रविधिमार्फत आफ्नो सिस्टममा समाहित गर्ने प्रविधिबारे जानकारी गरायो ।
‘थोप्लो मेशिन’ले स्मार्ट ग्राफ्टिङ प्रणाली र सिँचाइ नियन्त्रक प्रणालीसहित अंकुरण तथा कलमी गर्ने स्वचालित प्रणालीबारे प्रस्तुति दिए । ‘प्लान्ट स्याट’ले भने लामो समयदेखि कृषकलाई बीमा लिन प्रोत्साहित गर्दै आएको बताउँदै, स्याटेलाइटमार्फत कृषिबालीको अवस्थाबारे जानकारी दिने प्रविधिको प्रस्तुति दियो ।
यस प्रणालीले कृषकलाई क्षतिपूर्ति लिन र बीमा कम्पनीलाई भुक्तानी दिन सहज हुने बताइएको छ। यसले कृषक र बीमा कम्पनीबीचको पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमपछि बोल्दै स्विस सरकारको विकास सहयोग प्रतिनिधि सिसिल रिभेराले कृषिमा सिर्जनशीलता र नवप्रवर्तनमा स्विट्जरल्यान्ड सधैं साथ दिँदै आएको बताइन् ।
“स्विट्जरल्यान्ड परम्परागत कृषिमा समृद्ध देश हो र आधुनिकीकरणमा अग्रणी भूमिका खेलिरहेको छ । चिज, चकलेट र इनोभेसन जोड्दा स्विट्जरल्यान्ड बन्छ,” उनले भनिन्, “एसडिसीले उद्यमीहरूलाई सधैं नवप्रवर्तनमा हौसला दिँदै आएको छ।”
कार्यक्रममा दीपक विष्टले प्रविधिको सहायताले काम छिटो र सहज हुने हुँदा यसले समाजमा धेरै पक्षमा फाइदा पुग्ने बताए ।
उनले प्रविधिमा आएका परिवर्तनले अवसर र चुनौती दुवै ल्याउने हुँदा युवा पुस्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
‘उद्यमशीलतामा जोखिम र अवसर दुवै हुन्छन् । अबको समय डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल वस्तुको बलियो समर्थन तयार गर्नुपर्छ’, उनले भने,‘हरेक क्षेत्रमा नवप्रवर्तनलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा विशेष अतिथि जुना माथेमाले पनि आफ्ना विचार व्यक्त गरेकी थिइन् । सातमध्ये उत्कृष्ट हुने एक कम्पनीले आफ्नो परियोजनाका लागि ६० प्रतिशत अनुदान पाउनेछ भने ४० प्रतिशत लगानी आफैले जुटाउनुपर्नेछ ।