गोल्छा समूहले अब नेपालमै मोटरसाइकलको पार्ट्स बनाउने, एसेम्बल उद्योगमा १५ प्रतिशतसम्म नेपाली उत्पादन ! « Arthapath.com
६ आश्विन २०७८, बुधबार

गोल्छा समूहले अब नेपालमै मोटरसाइकलको पार्ट्स बनाउने, एसेम्बल उद्योगमा १५ प्रतिशतसम्म नेपाली उत्पादन !



काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय मोटरसाइकल ब्राण्ड बजाजले अबको एक वर्षभित्र १० देखि १५ प्रतिशत नेपाली उत्पादनको उपयोग गर्ने बताएको छ । नेपालमा हुलास अटोक्राफ्टले बजाज मोटरसाइकल एसेम्बल गरेर बेचिरहेको छ । यो गोल्छा समूह अन्तरगतको कम्पनी हो ।

गोल्छा समूहका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘आजको दिनमा एसेम्बल उद्योगमा नेपाली केही पनि उत्पादन प्रयोग हुँदैन । तर अबको एक वर्षमा १० देखि १५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग गर्छौं ।’ यसो गर्न सकियो भने केही हदसम्म मोटरसाइकलको मूल्य घटाउन सकिने उनले जानकारी दिए ।

हुलास अटोक्राफ्टले नवलपरासीको रामग्राममा एसेम्बल उद्योग स्थापना गरेर पछिल्लो दुई वर्षयता एकै सिफ्टमा ३०० मोटरसाइकलको एसेम्बल गरिरहेको छ । यो देशकै सबैभन्दा ठूलो एसेम्बल उद्योग हो ।

यसअघि हुलास मोटर्सले मुस्ताङ म्याक्स नामकाे ब्राण्डमा गाडी उत्पादन गरे पनि उक्त उद्योग चल्न नसकेपछि विगत २ वर्षअघि बन्द भयो । अब हाललाई सबैभन्दा ठूलो अटो उद्योग नै बजाजको मोटरसाइकल एसेम्बल गर्ने हुलास अटोक्राफ्ट हो ।

सरकारले यो वर्षको संशोधित बजेटमार्फत् मोटरसाइकल एसेम्बल गर्ने उद्योगलाई थप राजश्व छुट दिएपछि यसबाट बचेको पैसा मोटरसाइकलका स्पेयर पार्टस बनाउने उद्योगमा खर्च गर्ने गोल्छाले बताए । उनले तत्कालै नेपालमा ‘प्लास्टिक मोल्डिङ’ का सामान उत्पादन गर्न सकिने जानकारी दिए ।

मोटरसाइकलमा धेरै पार्ट्सहरु प्लास्टिकबाट बनेका हुन्छन् । ती चीज आफ्नो मुलुकभित्रै बनाउन सकिने गोल्छाले बताए । ‘त्यसबाट देशभित्रै कच्चापदार्थ उत्पादन गर्नका लागि हामीले पहिले नै समझदारी (एमओयू) गरिसकेका थियौं । अब हामी त्यसमा लगानी गर्छौं,’ उनले भने ।

गोल्छाका अनुसार प्लास्टिकका पार्टसबाहेक स्ट्याण्ड, डबल स्ट्याण्ड, लेगार्ड, साडीगार्डजस्ता फलामका वस्तु पनि नेपालमै उत्पादन गर्न सकिन्छ । मोटरसाइकलमा थुप्रै तारहरुको प्रयोग हुने भएकाले ‘वायर हार्नेसिङ’ लगायतका वस्तुको उत्पादन पनि नेपालभित्रै हुन सक्ने उनी बताउँछन् । सीट (बस्ने ठाउँ) पनि स्वदेशमै बनाउन सकिने उनको बुझाइ छ ।

चेसीस वेल्डिङजस्ता विशिष्ट काम चाहीँ अहिलेको अवस्थामा नेपालमा गर्न सकिन्न । तर बंगलादेशमा यी काम पनि सुरु भइसकेको छ । ‘फलाम नै ल्याएर रोबोटिक प्रविधीबाट वेल्डिङ गर्नुपर्छ’, उनी भन्छन्, ‘हामी विस्तारै यो काम पनि नेपालमै गर्न सक्ने अवस्था आउँछ ।’

इञ्जिन नै एसेम्बल गर्न चाहीँ गाह्रो छ । इञ्जिन बनाउन निकै ठूलो लगानी चाहिने र हाम्रो बजारले त्यो स्तरको लगानी धान्न नसक्ने उनी बताउँछन् ।

यद्यपि, ‘एयर फिल्टर’ लगायतका इञ्जिनका अन्य पार्ट्स भने देशभित्र बनाउन सकिने गोल्छा बताउँछन् । उनले भने, ‘मलाई लाग्छ, सरकारले यो सहुलियत दिइराख्यो भने ३०–४० प्रतिशत कच्चापदार्थ नेपालभित्रै उत्पादन गर्न सकिन्छ ।’ गोल्छाले सरकारी सहुलियत प्राप्त भइराखे आफ्नो एसेम्बल उद्योगमा मात्र ४ देखि ५ हजार जनालाई रोजगारी दिन सक्ने बताए ।

‘राजश्व र नाफामात्रै हेर्ने र संकुचित मानसिकता राख्ने हो भने यो देश यसरी नै थप ब्यापार निर्भर बन्दै जान्छ’, गाेल्छा भन्छन्, ‘उत्पादनमुलक अर्थतन्त्र बनाउने हो भने हामीले ठूलो सोच राख्नु जरुरी छ ।’

गोल्छाको उद्योगले अहिले नेपालभित्र विक्री हुने बजाजका मोटरसाइकलमध्ये ९० प्रतिशत मोटरसाइकल एसेम्बल गर्छ । एनएस, पल्सर, डिस्कभर लगायतका २२० सीसीसम्मका मोटरसाइकल नेपालमै बन्छन् । योभन्दा ठूलो क्षमताका मोटरसाइकल चाहीँ भारतमै बनेर आयात हुन्छ । बजाजसँगै टीभीएस कम्पनीले पनि नेपालमै मोटरसाइकल एसेम्बल गरेर बेच्छ ।

तर नयाँ बजेटले अरु ठूला कम्पनीलाई पनि नेपालमा एसेम्बल उद्योग राख्न दबाब परेको छ ।

व्यवसायीहरुका अनुसार नयाँ एसेम्बल उद्योग राख्न कम्तिमा वार्षिक २५–३० हजार मोटरसाइकल विक्री हुनु पर्छ । एसेम्बल उद्योगमा १ अर्ब ५० करोडजतिको लगानी हुने गोल्छा बताउँछन् ।

परीक्षण (टेस्टिङ)का लागि पनि ७–१० करोड लगानी गरेर उपकरण जडान गर्नुपर्ने उनी बताउँछन् । मोटरसाइकलको ब्रेकदेखि इन्धन खपत, आउटपुटसम्मका सबै परीक्षणहरु गर्नुपर्छ ।

‘यति ठूलो लगानी गर्न २५–३० हजार मोटरसाइकलको बजार सुनिश्चित हुनै पर्छ’, उनी भन्छन् । नेपालमा अहिले यामाहा, होण्डा, हिरो र सुजुकीले पनि मोटरसाइकल एसेम्बल उद्योग राख्न सक्ने गोल्छा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्