युवामै नाडाको अध्यक्ष भएर अटोमोवाइल्स क्षेत्रमा केही गरेर देखाउने विचार छ

करण चौधरी, अध्यक्ष पदका उम्मेदवार, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल
सिजी होल्डीङ्सका कार्यकारी निर्देशक करण चौधरी युवा व्यवसायी हुन् । अटोमोवाइल्स सेक्टरमा जमेका चौधरीको कम्पनीले नेपालमा सबैभन्दा बढी विक्री हुने मारुती सुजुकीका कार विक्री गर्दै आएको छ । चौधरी अटोमोवाइल्स क्षेत्रको छाता संस्था नाडाको हाल उपाध्यक्ष रहेका छन् । भोलि हुने नाडाको चुनावमा चौधरी अध्यक्ष पदका सशक्त उम्मेदवारको रूपमा देखिएका छन् । चौधरी र अर्का अटो व्यवसायी ध्रुव थापाको अध्यक्ष पदमा प्रतिस्पर्धा हुने देखिएको छ । यसलाई चौधरीले सर्वसम्मतिको प्रयास जारी रहेको बताएका छन् । उनै चौधरीसँग अर्थपथले गरेको कुराकानीको सारअंश ः–
नाडाको अध्यक्ष पदमा तपाईँको उम्मेदवारी किन ?
युवाले केही गर्नुपर्छ भन्ने लागेर नाडामा युवाको छायंकन गर्न म आएको छु । कसरी युवाको जोस बढाउन सकिन्छ भन्ने कुरामा म लागेको छु ।
एक कार्यकाल उपाध्यक्ष बन्ने बित्तिकै अध्यक्षको उम्मेदवार बन्नुभएको छ, चाँडै नाडाको कार्यकारी जिम्मेवारीबाट बाहिरिन खोज्नुभएको हो ?
नाडाबाट कोही पनि कहिल्यै रिटायर हुँदैन । हामी कार्यकारी कमिटीमा भए पनि पूर्व अध्यक्षहरूलाई गुहारेकै हुन्छौँ । नाडामा सधैँ आफ्नो अस्तित्व राख्न चाहन्छु । युवामै अध्यक्ष भएर केही गरेर देखाउने विचार छ ।
उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईँले अध्यक्ष जित्ने आधारहरू के–के हुन् ?
निर्वाचनको प्रक्रियाको लागी मात्रै मेरो उम्मेदवारी हो । अझै सर्वसम्मतिको लागी प्रयास जारी छ । आशा छ वातावरण पनि त्यै किसिमले अघि बढेको छ । सर्वसम्मत हुन सकेन भने मात्रै चुनाव हुनेछ ।
सर्वसम्मतको लागी तपाईँ त्याग गर्न पनि तयार हो कि, आफ्नै नाममा मात्रै हुनुपर्छ भन्ने हो ?
यसमा युवाले छोड्नुपर्ने ३ ओटा कारण ? मेरो उमेर बाहेक अध्यक्ष बन्न ३ कारण दिनुभयो भने म छोड्न पनि तयार हुन्छु ।
बाहिर त तपाईँलाई काँचो नेतृत्व भन्छन् नि ?
युवालाई प्रोत्साहनको साटो निरुत्साहित गर्ने हो भने त्यो कुरा काम लाग्छ । १६ वर्ष कम्पनीलाई नेतृत्व गरेर आएको मान्छेलाई काँचो भन्न हुन्छ कि हुँदैन आफैले मुल्यङ्कन गर्नुहोस् ।
नाडामा प्यानलै बनाएर चुनाव जाँदा सामूहिक एजेन्डा कमजोर बन्दैन ?
प्यानल बनाए पनि सबै नाडाकै मान्छेहरू हुन् । नाडाकै विकासमा लाग्न नेतृत्वमा आउन खोज्नुभएका हुन् । चुनाव नै भए पनि सबै जना समेटिनेछन् ।
तपाईँ सबै व्यवसायीसंग उपलब्ध हुन सक्नुहुन्न भन्ने आरोप पनि छ, अध्यक्ष भएपछि नाडालाई कसरी हाँक्ने सोच छ ?
कशैले केही खाँचो नभईकन कोही उपलब्ध हुँदैन । मैले सकेसम्म उपलब्ध हुने चाहना पनि छ र हुन सक्छु पनि ।
नौ सय जना सदस्यबाट ३२ सय जना पुगेको छ, चुनावको मुखमा सदस्यता थप्ने काम कसले गर्यो ?
सबै जनालाई समेट्न खोजेको हो । पहिलोपल्ट नाडाको ७ ओटै प्रदेशमा कमिटी विस्तार भएको छ । प्रदेशबाट आएको सदस्यहरू बढेको हो । अझै पनि बढ्न सक्छ भन्ने लाग्छ ।
साइकलको टायरमा हावा भर्नेलाई पनि सदस्यता बनाएर हुन्छ ?
नाडाको विधानले तोकेको क्राइट एरिया पुरा गरेपछि सदस्य बन्न सक्छ । प्यान वा भ्याटमा उद्देश्य अटोमोवाइल राखेपछि उ नाडाको सदस्य बन्न सक्छ ।
सरकारले लिने विभिन्न करका कारण संसारमै प्राइभेट कार महँगो भएको छ, यसबारेमा नाडाले के गर्न सक्छ ?
नाडाले वर्षौंदेखी यो कुरा उठाउँदै आएको छ । विद्युतीय गाडीमा नाडाले सफलता पनि पाएको छ । सरकारलाई हामीले दिने सुझाव जारी छ । कुनै दिन सफलता पाइन्छ भन्ने लाग्छ ।
शेखर गोल्छा र सौरभ ज्योतिसँग धेरै भोट छ, उनीहरू तपाईँप्रति पोजेटिभ छैनन् नि ?
शेखर गोल्छा र सौरभ ज्याती दुवै जना मेरा अग्रज हुन् । उहाँहरू दुबै जना उद्योग वाणिज्य महासङ्घमा आबद्ध हुनुहुन्छ । गोल्छा अध्यक्ष त ज्योति उपाध्यक्षका प्रत्याशी । उहाँहरूलाई खुलेर लाग्न गाह्रो भएको हो । उहाँहरू मेरो दाइजस्तो अग्रज हुनुहुन्छ । भोट मैले पाउँछु भन्ने लागेको छ । उहाँहरूसँग बुवा हजुरबुवा देखीको हाम्रो सम्बन्ध छ ।