विद्युतीय सवारी आयात हालसम्मकै उच्च: एक महिनामै ६७.८७% ले वृद्धि, किन बढी रहेको छ आकर्षण ?

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण ह्वात्तै वृद्धि भएको छ । सरकारले विद्युतबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न भन्सार राजश्वमा छुट दिएसंगै यसप्रतिको आकर्षण निरन्तर वृद्धि भएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्मको तथ्याङ्क अनुसार विद्युतीय सवारी आयात ह्वात्तै वृद्धि भएको देखिएको छ ।
विभागका अनुसार असोज मसान्तसम्ममा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । उक्त अवधिमा विभिन्न तौल क्षमताका ७०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । जुन, तीन महिनाको अवधिमा भएको आयात संख्या अहिलेसम्मकै उच्च हो । विद्युतीय सवारी आयातबाट असोज मसान्तसम्ममा सरकारले ६२ करोड २२ लाख ६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
विद्युतीय सवारीमा सरकारले दिएको प्रोत्साहनसंगै इलेक्ट्रिक कार, जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधा पनि वृद्धि हुँदै गएको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ ।
विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।
विद्युतीय सवारी आयातको तथ्याङ्क अनुसार एक महिनामै ६७.८७ प्रतिशतले वृद्धि भएको छ । चालु आवको भदौ मसान्तसम्ममा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ थान इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको थियो । तर, एक महिनाको अवधि अर्थात असोज मसान्तसम्ममा बढेर २ अर्ब ५० लाख बढी पुगेको हो ।
पछिल्लो समय नेपालीहरुको विद्युतीय सवारीप्रति बढ्दो आकर्षण रहेको नाडा अटोमोवाईल्स एशोसिएशनका सचिव तथा तथा नारायणी अटो विजनेसका एमडी/प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुप कुमार बरालले बताए ।
सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधन आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी प्रति नेपालीको थप चासो वृद्धि भएको बरालले जानकारी दिए । सरकारले गत वैशाख १३ गतेदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । बरालले भने–‘सरकारले पट्रोल डिजेलबाट चल्ने गाडीको आयात विगत ६/७ महिनादेखि रोक लगाएको छ, जसका कारण विद्युतीय सवारी आयातमा थप टेवा पुगेको हो ।’
‘नेपालमा पहिलो पटक नाडाले असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गरेको थियो, त्यसले पनि आम मानिस आकर्षण र विश्वास बढेको छ’– बरालले भने । उनका अनुसार चाडवाडको मौकामा विभिन्न नाका खुला भएसंगै रोकिएका सवारी पनि नेपाल भित्रिएको जानकारी गराए ।
नेपालमा विद्युतिय सवारी चलाउने पूर्वधार पनि विस्तार हुँदै गएका कारण पनि यसप्रति आम नेपालीको विश्वास पनि बढेको बरालले बताए । अब विस्तारै थप चार्जिङ स्टेशन, मेकानिकल सर्भीसेज तथा सडक पनि विद्युतीय सवारीका लागि उपयुक्त बन्दै जाने बरालको भनाई छ ।
सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित रहेको छ । नेपाल विद्युत् प्राधिकरणले हाल ५० वटा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । क्षेत्रका विद्युतीय सवारी साधन बिक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।
विभागका अनुसार असोज मसान्तसम्ममा सबैभन्दा बढी इलेक्ट्रिक सवारी भारतबाट आयात भएको छ । उक्त अवधिमा भारतबाट मात्रै १ अर्ब ३३ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । भारतबाट १०० किलोवाट तौल क्षमताका ५०२ वटा इलेक्ट्रिक गाडी नेपाल भित्रिएको छ ।
यस्तै, कोरियाबाट पनि ४५ करोड ९५ लाख ९५ हजार रुपैयाँ बराबरका १२० वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार उक्त देशबाट १०० किलोवाट तौल क्षमताका १०९ र १०० देखि २०० किलोवाटसम्मका ११ वटा इलेक्ट्रिक कार, जीप र भ्यान नेपाल आएका छन् ।
त्यसैगरि, चीनबाट असोज मसान्तसम्ममा १८ करोड ३० लाख ८१ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । चीनबाट १०० किलोवाट तौल क्षमताको ७५ वटा र १०० देखि २०० किलोवाट तौल क्षमताका ४ वटा विद्युतीय सवारी नेपाल आएको विभागले जनाएको छ ।
यता, अमेरिकाबाट भने असोजसम्म २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
चालु आवको पहिलो महिनामा भने ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ थान इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको थियो । साउनमा भारतबाट ३४ करोड ९ लाख ८७ हजार रुपैयाँ, कोरियाबाट १६ करोड ५८ लाख १३ हजार र अमेरिकाबाट भने २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।