१४ गुणाले बढ्यो विद्युतीय सवारी आयात, एक महिनामै थप ५०४ वटा इभि नेपाल भित्रियो

काठमाडौं । नेपाल विद्युतीय सवारी (कार,जीप र भ्यान) आयात ह्वात्तै बढेको छ । १० महिनामै विद्युतीय सवारीको आयात १४ गुणाले बढेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । बैशाख मसान्तसम्ममा ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । जुन चालु आवको पहिलो अर्थात साउन महिनाको तुलनामा १४ गुणाले बढी हो । साउन महिनामा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २११ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
चालु आवको बैशाख महिनामा मात्रै थप ५०४ वटा सवारी नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ । जुन हालसम्मकै उच्च हो । गत आवको बैशाख मसान्तसम्मको तुलनामा पनि विद्युतीय सवारी आयात ९०.५२ प्रतिशतले वृद्धि भएको छ । गत आवको समिक्षा अवधिमा १ हजार ५५१ वटा विद्युतीय गाडी आयात भएको थियो । गत आवको सो अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
आयात भएका विद्युतीय सवारी १००–३३० किलोवाट तौल क्षमताका छन् । हाल नेपालमा चीन, भारत, कोरिया, अमेरिका र इन्डोनेशियाबाट विद्युतीय सवारी आयात हुने गरेको छ ।
चालु आवको बैशाख मसान्तसम्मा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ । भारतबाट १० महिनामा ५ अर्ब ३२ करोड ७९ लाख ९४ हजार रुपैयाँ बराबरको १ हजार ९६८ वटा गाडी आयात भएको छ ।
यस्तै, चीनबाट भने २ अर्ब १ करोड ३१ लाख रुपैयाँ बराबरको ७१० वटा, कोरियाबाट १ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको २७० गाडी आयात भएको छ । विभागका अनुसार चालु आवको १० महिनामा अमेरिकाबाट २ करोड २७ लाख रुपैयाँ बराबरको ४ वटा र इन्डोनेशियाबाट ६४ लाख बराबरको ३ वटा विद्युतीय सवारी आयात भएको छ ।
नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । हालै मात्र सरकारले सार्वजनिक गरेको आगानी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।
पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको हो ।
विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।
पेट्रोलिय पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकुल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाईमा परेको हो । पेट्रोल, मर्मत, सर्भिसिंङ, क्लीच, गियर, मोविल लगायतको खर्च पनि बचत हुने र दीर्घकालिन सोच राख्नेका लागि विद्युतीय सवारी सस्तो हुने भएपछि यस तर्फ आकर्षण बढेको विज्ञहरुको भनाई छ ।
मासिक ३०० वटा विद्युतीय सवारी आयात
नेपालमा मासिक करिव ३०० वटा विद्युतीय गाडी आयात हुने गरेको छ । विभागको तथ्याङ्क अनुसार औसतमा २९५ वटा गाडी नेपाल भित्र्ने गरेको पाइएको हो ।
चालु आवको पहिलो महिनामा २११ वटा सवारी आयात भएको थियो । भदौमा भने बढेर ४१४ वटा गाडी आएको थियो । असोज महिनामा भने थप २९१ वटा, कात्तिकमा ३१३, मंसिरमा ३३५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार गत पुस महिना महिनाको तुलनामा माघ घटेर २६० वटा विद्युतीय सवारी आयात भएको थियो । यता, फागुन पनि १८९ वटा मात्रै आयात भएको छ । जुन अन्य महिनाकै तुलनामा कम हो । चालु आवको ९ महिना अर्थात चैतमा भने थप २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
सरकारलाई मासिक २३ करोड राजश्व
विद्युतीय सवारी आयातबाट सरकारले औसतमा मासिक २३ करोड बढी राजश्व पाएको छ । चालु आवको १० महिनासम्ममा २ हजार ९५५ वटा गाडी आयात हुँदा सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
बैशाखमा मात्रै विद्युतीय सवारी आयातबाट सरकारले ३७ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत चैत महिनामा विद्युतीय गाडीबाट १९ करोड २३ लाख, फागुनमा १५ करोड ५३ लाख, माघमा १८ करोड ८९ लाख रुपैयाँ राजश्व उठेको थियो ।
चालु आवको पहिलो महिनामा भने २१ करोड ६१ लाख रुपैयाँ राजश्व सरकारले प्राप्त गरेको थियो । विभागका अनुसार भदौमा १९ करोड १५ लाख, असोजमा २१ करोड ४४ लाख, कात्तिकमा २३ करोड ४० लाख रुपैयाँ राजश्व उठेको थियो ।
यस्तै, मंसिरमा २४ करोड ३९ लाख, पुसमा भने ५ करोड रुपैयाँले बढेर २९ करोड ४४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।