नेपालमा जेसीबीको बलियो उपस्थिति, अत्याधुनिक उत्पादनहरु र नयाँ वारेण्टि सपोर्ट प्याकेजहरु « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

नेपालमा जेसीबीको बलियो उपस्थिति, अत्याधुनिक उत्पादनहरु र नयाँ वारेण्टि सपोर्ट प्याकेजहरु



काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

नेपाली बजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएका केहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको हो ।

एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रिय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक शेट्टीले नेपाल भ्रमणको क्रममा भने, “ नेपाल हाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमा नेपालको नौलो पहिचान र स्थान छ, र हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौँ । हामी हाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थ मुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्ध कायम राख्न सफल भएका छौँ ।”

नेपालमा जेसीबीका १० हजार ५०० भन्दा धेरै उपकरणहरु संचालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिनेछ ।

जेसीबीका उपकरणहरुमा जेसीबी लाईभलिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ । शेट्टीले भने, “नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा बृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर छ।”

विश्वस्तरीय जेसीबीका उपकरणहरुद्वारा ग्राहकहरुलाई सहायता गर्नेवाहेक नेपाली युवा जनशक्तिहरुलाई देशमै रोजगारका अवसरहरु प्रदान गरिरहेको एमएडब्लूका प्रिन्सिपल डिलर विष्णु अग्रवालले बताए ।

एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको छ भने चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको उनको भनाई छ। अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भनेर सिकाइने उनले जानकारी गराए । हालसम्म हामीले झण्डै ५ हजार चालकहरूलाई तालिम प्रदान गरेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्