मासिक ८०० हाराहारीमा नेपाल भित्रन्छन् विद्युतीय गाडी, १०० किलोवाटसम्मको इभिमा धेरै आकर्षण « Arthapath.com
९ बैशाख २०८१, आईतवार

मासिक ८०० हाराहारीमा नेपाल भित्रन्छन् विद्युतीय गाडी, १०० किलोवाटसम्मको इभिमा धेरै आकर्षण



काठमाडौं । विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातको आँकडा बढ्दो नै छ । ९ महिनामा ७ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा विभिन्न ब्रान्ड तथा तौल क्षमताका ७ हजार ९३ वटा विद्युतीय गाडी आयात गरिएको छ । यो गत आवको चैत मसान्तसम्मको तुलनामा भने ३.८८ गुणा बढी हो । विभागका अनुसार गत आवको सोही अवधिमा नेपाली व्यवसायीहरुले कुल ६ अर्ब ८४ करोड ७ लाख रुपैयाँ बराबरको २ हजार ४५१ वटा इभि आयात गरेका थिए ।

यो वर्षको चैत मसान्तसम्ममा कुल १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरका इभि आयात गरिएको छ । ९ महिनामा भएको इभि आयातबाट सरकारले भने ७ अर्ब ७८ करोड २१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी जस्ता ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् । नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् ।

पछिल्लो समय नेपालमा ठुलो परिणामा विद्युतीय सवारी आयात हुने गरेको छ । मासिक औसतमा ७८८ वटा इभि नेपाल भित्रने गरेको तथ्याङ्क छ । विभागका अनुसार चैत महिनामा मात्रै ६५८ वटा इभि आयात भएको छ । गत फागुनको तुलनामा भने यो २८२ वटा धेरै हो । गत फागुनमा २७६ वटा मात्रै इभि आयात भएको थियो ।

विभागका अनुसार गत माघ महिनामा १ हजार ५२, पुसमा १ हजार ४२१ वटा इभि आयात भएका थिए । यस्तै, मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, असोज १ हजार २३७, भदौमा ७८८ वटा र गत साउनमा भने ११० वटा मात्रै इभि आयात गरिएको थियो ।

नेपालमा सबैभन्दा धेरै चिनियाँ गाडीहरु आउने गरेको छ । ९ महिनामा कुल आयात भएका विद्युतीय सवारी संख्यामा ठुलो हिस्सा चीनको छ । चीनबाट ९ महिनामा १२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ बराबरको ४ हजार ५३३ वटा इभि नेपाल भित्रिएको छ । समिक्षा अवधिमा भारतबाट पनि ३३३ वटा, कोरियाबाट ४८ वटा, इन्डोनेशियाबाट ३७ वटा जर्मनबाट १२ वटा र अमेरिकाबाट ४ जना इभि आयात भएको छ ।

१०० किलोवाटसम्मको इभिमा धेरै आकर्षण हुने गरेको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार ९ महिनामा १०० किलोवाटसम्मका इभि धेरै आयात भएको छ । समिक्षा अवधिमा५१ देखि १०० किलोवाट ४ हजार ७७ वटा आयात भएको छ ।

विभागका अनुसार समिक्षा अवधिमा ५० किलोवाट तौल क्षमताका २ हजार ९०२ वटा इभि आयात भएको छन् । यस्तै, १०० देखि २०० किलोवाटसम्मका ९३ वटा र २०१ देखि ३०० किलोवाट (पिक पावरसहित) का २१ वटा इभि आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्