कर वृद्धिको हल्लाले ठूलो संख्यामा नेपाल भित्रिए विद्युतीय गाडी « Arthapath.com
२५ असार २०८२, बुधबार

कर वृद्धिको हल्लाले ठूलो संख्यामा नेपाल भित्रिए विद्युतीय गाडी



काठमाडौं । विद्युतीय सवारी (जीप, कार र भ्यान) आयात ह्वात्तै बढेको छ । एकै महिनामा १४ सय बढी विद्युतीय सवारी नेपाल भित्रएका छन् ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कले यस्ता देखाएको हो । बैशाख महिनामा मात्र १ हजार ४०४ वटा इभि नेपाल भित्रीएका छन् । यो गत चैत महिनाको तुलनामा १९.७९ प्रतिशत बढी हो । गत चैतमा ६५८ वटा मात्रै इभि नेपाल भित्रिएको थियो ।

सरकारले विद्युतीय सवारीमा कर बढाउने हल्लाले गाडी आयात बढेको तथ्याङ्कले देखाउँछ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी कर बढाउने हल्ला छ । यति बेला सरकारले राजश्वमा ठुलो धक्का पुगेको भन्दै विद्युतीय सवारीमा कर बढाउने हल्ला चलिरहेको छ, इभिमा कर वृद्धिको चर्चासँगै व्यवसायीहरुले ठुलो संख्यामा गाडी आयात गरेको हुन सक्ने बुझाई छ ।

सरकारले आव २०८१/८२ को बजेटबाट विद्युतीय सवारी साधानमा कर बढाउने हल्ला छ । हाल विद्युतीय गाडीको आयातमा गाडी र ब्याट्रीको क्षमताअनुसार १० देखि ८० प्रतिशतसम्म कर लगाइँदै आइएको छ । अब त्यसलाई बढाउने योजना सरकारले बनाएको छ । साथै, गाडीको क्षमता भन्दा पनि मूल्यको आधारमा करको दर निर्धारण गर्ने योजना बनाइएको छ ।

सरकारले जेठ १५ गते बार्षिक बजेट ल्याउँउदै छ । आर्थिक बर्ष साउन १ गतेबाट सुरु हुने भए पनि कर सम्बन्धी प्रावधान भने बजेट घोषणा भएलगत्तै जेठ १६ गतेबाटै लागू हुन्छ । त्यस अनुसार विद्युतीय गाडीमा कर बढाएमा जेठ १६ गतेबाट लागू हुनेछ ।

यो पनि,

कर बढ्ने भएपछि बजेटको अघिल्लो महिना व्यवसायीहरुले उच्च मात्रामा गाडी आयात गरेको हुनसक्ने आकलन गरिएको हो । तर, कर बढ्ने हल्लाले नभई बजार माग अनुसार नै आयात भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले बताए । विद्युतीय सवारीमा नेपालीहरुको चुलिँदो आकर्षणले नै आयातको आँकडा पनि बढेको महासचिव उप्रेतिले बताए । ‘नेपाली बजारमा विद्युतीय सवारी माग अनुसार नै आयात बढ्दै गएको हो । बैशाखमा भएको आयातको आँकडालाई कर वृद्धिको हल्ला भन्न मिल्दैन’, उनले भने,‘ नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी छ । मार्केट डिमान्ड नै हो, कर वृद्धिको हल्ला भन्न मिल्दैन ।’

यता, व्यवसायीहरु पनि कर वृद्धिको हल्ला नभई बजार मागअनुसार नै इभि आयात भएको बताउँछन् । यद्यपि, यो बिचमा सरकारले बजेट मार्फत इभिमा कर बढाउने हल्ला भने सुनिएको उनीहरुको भनाई छ । गत वर्षदेखि नै इभिको बजारमा बढ्दो क्रममा रहेकाले सोही अनुसार नै आयात भएको एक व्यवसायीले बताए । उनले भने,‘नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ, जसले आयात निरन्तर बढी रहेको छ । कुनै कर वृद्धिको हल्ला भन्न मिल्दैन, यो बजार माग नै हो ।’

हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् । १० महिनाको अवधिमा भने कुल २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरका ८ हजार ४९७ वटा इभि नेपाल भित्रिएका छन् ।

बैशाखसम्ममा सबैभन्दा धेरै चीनबाट १५ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको ५ हजार ५४७ वटा इभि आयात भएको छ ।
समिक्षा अवधिमा भारतबाट ५२ कारेड ६६ लाख बराबरको २ हजार ७४५ वटा, कोरियाबाट २७ करोड ३७ लाख बराबरका ४८ वटा इभि आयात भएको छ । यस्तै, जर्मनबाट ८ करोड २४ लाखका १३ वटा, इन्डोनेसियाबाट पनि २७ करोड ४८ लाख बराबरको १४१ वटा र अमेरिकाबाट १ करोड ६६ लाख बढीको ३ वटा इभि आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार मासिक औसत साढे ८ वटा इभि आयात हुने गरेको देखिन्छ । गत फागुनमा २७६ वटा, माघ महिनामा १ हजार ५२, पुसमा १ हजार ४२१ वटा इभि आयात भएका थिए । यस्तै, मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, असोज १ हजार २३७, भदौमा ७८८ वटा र गत साउनमा भने ११० वटा मात्रै इभि आयात गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्