सुजुकीले पनि ल्याउँदै छ नयाँ ईभी, कति पर्ला मूल्य ?
काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार आगामी माघसम्म सार्वजनिक गरीसक्ने बताएको छ । उसले ‘ई–भीएक्स’ कार यही आर्थिक वर्ष (भारतमा अप्रिलदेखि मार्च सम्मलाई आर्थिक वर्ष मानिन्छ) भित्र सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीका अध्यक्ष आर सी भार्गवले आफ्नो वार्षिक प्रतिवेदनमा भनेका छन्, ‘पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनप्रतिको निर्भरता घटाउन वैकल्पिक प्रविधिहरु अपनाउने रफ्तारलाई बढाउनु आवस्यक छ ।’ यसका लागि आफूहरुको नीतिगत ढाँचा बदल्नुपर्ने उनले उल्लेख गरेका छन् ।
कम्पनीले २०२३ को अटो एक्सपोमा ‘ई–भीएक्स’ मोडलको ‘कन्सेप्ट फर्म’ रार्वजनिक गरेको थियो । यो गाडी सन् २०२५ को सुरुआतबाट सबैतिर उपलब्ध हुने आशा गरिएको छ । तथापि कम्पनीले आगामी डिसेम्बरभित्रै कार तयार पार्ने अनुमान गरिएको छ ।
‘ई–भीएक्स’मा सम्भवतः ६० हजार युनिट (६० किलोवाट आवर) ब्याट्री राखिने र एक पटक फुल चार्ज गर्दा ५५० किलोमिटरको रेञ्ज दिने अपेक्षा गरिएको छ ।
यो गाडीले हुण्डाईको क्रेटा ईभी र होण्डाको एलिभेट ईभीसँग प्रतिस्पर्धा गर्ने ठानिएको छ । तर कम्पनीले अहिलेसम्म समष्टिगत रुपमा उक्त कारको ‘स्पेसिफिकेशन’ उपलब्ध गराइसकेको छैन । उक्त गाडीमा कुन क्षमताको मोटर जडान हुन्छ भन्ने पनि खुलाइएको छैन ।
यद्यपि, एसयुभीको रुपमा आउने यो गाडी पनि नेक्जाकै जस्तो सिग्मा, डेल्टा, जेटा र अल्फा भेरियन्टमा आउनसक्ने संभावनालाई दर्शाइएका समाचारहरु भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । भारतीय बजारमा उक्त गाडीको मूल्य भेरियण्ट अनुसार भारु. २० देखि २५ लाखको बीचमा रहनसक्ने अनुमान गरिएको छ ।
नेपालमा सुजुकीको गाडी सीजी अटोकर्पले बेच्छ । उसले नयाँ ईभीको हकमा भारतमा ‘लञ्च’ हुनासाथ नेपालमा पनि कार उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको सीजी होल्डिङ्सले जनाएको छ । यसका लागि पनि कम्तिमा ६ महिना कुर्नुपर्ने हुन्छ ।