गलत प्रोत्साहन संरचनाले नवप्रवर्तन रोकेको अर्थमन्त्रीको दाबी, आक्रोश र विद्रोहलाई निर्माणमा बदल्न आह्वान « Arthapath.com
७ असार २०८३, आइतबार

गलत प्रोत्साहन संरचनाले नवप्रवर्तन रोकेको अर्थमन्त्रीको दाबी, आक्रोश र विद्रोहलाई निर्माणमा बदल्न आह्वान



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको मुख्य समस्या स्रोत र सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको बताएका छन्।

पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै उनले विगतका आन्दोलनले ल्याएका लोकतन्त्र र समावेशिता जस्ता उपलब्धिको सम्मान गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन नसकेको टिप्पणि गरे ।

देशमा धेरै निर्वाचन भए पनि जनताप्रतिको उत्तरदायित्व कमजोर रहेको, राज्यको आकार बढे पनि क्षमता र सार्वजनिक सेवाको गुणस्तर नबढेको उनकाे भनाइ छ। उनले आर्थिक गतिविधिको स्वरूप फेरिए पनि मर्यादित रोजगारीका अवसर सिर्जना हुन नसक्दा आजको संकट पैदा भएको बताए।

राजनीति र व्यवसायको विकृत संस्कारमाथि प्रहार गर्दै डा. वाग्लेले भने, ‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो। व्यवसायमा नवप्रवर्तन गर्न कठिन तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो।’

राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने र प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने संस्कार विकास गरेकाले रास्वपाको उद्देश्य केवल सरकार फेर्ने नभई राजनीतिक संस्कार नै परिवर्तन गर्ने अभियान भएको उनले प्रष्ट पारे।

वाग्लेले रास्वपा अब आक्रोश र विद्रोहको जगबाट माथि उठेर निर्माण र संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन लागेको घोषणा गरे । नयाँ पुस्ताले केवल प्रश्न सोध्न र विरोध गर्न मात्र नभई उत्तर दिन, शासन चलाउन र परिणाम दिन सक्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने चुनौती पार्टी सामु रहेकाे बताए ।

भागबण्डाको राजनीति अन्त्य गर्दै क्षमताका आधारमा चल्ने मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको पनि उनले स्पष्ट पारे।

पार्टीको भविष्यको मार्गचित्र प्रस्तुत गर्दै उहाँले बहुमतले शासन गर्ने तर अल्पमत पनि सम्मानित हुने उदार लोकतन्त्र र आसेपासे पुँजीवादमुक्त प्रतिस्पर्धी अर्थतन्त्रको वकालत गरे ।

युवाहरू अवसर खोज्न देश छाड्न बाध्य नहुने र किसान, श्रमिक तथा उद्यमीले बिनाभय आत्मविश्वासी भएर बाँच्न सक्ने नेपाल निर्माण नै रास्वपाको लक्ष्य रहेको उनकाे भनाइ छ।

निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदलदै मुलुकलाई समृद्ध र परिणाममुखी लोकतन्त्रतर्फ अघि बढाउन उनले सबैलाई आह्वान गरे।


प्रतिक्रिया दिनुहोस्