‘अटो शो’मा सिजीको दबदबा : केवाईसी, नेटा र किङलङ ग्राहकको रोजाईमा, कुन गाडी कति भयो बुकिङ ?
काठमाडौं । यस वर्षको नाडा अटो शो-२०२४ भव्यताका साथ सम्पन्न भएको छ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको ६ दिने अटो शोमा ८२ हजार ४७० जनाले अवलोकन गरेका थिए । यस वर्षको नाडा अटो शोले विगत केही वर्षदेखि सुस्ताएको अर्थतन्त्रलाई टेवा पुर्याउने काम गरेको छ ।
आयोजक नाडाका अनुसार अटो शोमा करीब ३ हजार ८ सयभन्दा बढी गाडी बुकिङ भएको छ । यस अवधिमा करीब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भयो । करीब ७५ हजार अवलोकनकर्ता सहभागी हुने अनुमान रहेको अटो ८२ हजारभन्दा धेरैको सहभागिता रह्यो । सवारी साधनको बुकिङमा समेत उत्साह देखियो ।
यस वर्षको नाडा अटो शोमा चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स दबदबा कायम गर्यो । अटोमोबाइल क्षेत्रमा छोटो समयमा नै आफूलाई अब्बल साबित गरेको सिजी मोटर्सले नेपाली बजारमा विद्युतीय गाडीको बढ्दो माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सोहीअनुरुपको उत्पादन भित्र्याउँदै आइरहेको छ । अटो शोमा सिजीले ८ वटा स्टल राखेको थियो ।
सिजी मोटर्सले विभिन्न ८ ब्राण्डका गाडीहरू प्रदर्शनीमा राखेको थियो । सिजीले नेटा, अवतार, एक्सपेङ, आयोन वाई, राडार, केवाईसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी प्रदर्शनीमा राखेको हो। सिजी मोटर्सले एक्सपेङ, अवतार रिडारा र हिरो ब्राण्ड भने नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको हो ।
कुन गाडी कति भयो बुकिङ ?
सिजी मोटर्सका अनुसार नाडा अटो शोमा केवाईसी ब्राण्ड ग्राहकको पहिलो रोजाई बनेको छ । नाडा अटो शोमा केवाईसीको सर्वाधिक २५५ वटा गाडी बुकिङ भएको छ । केवाइसीको ७ सिटर भ्यानले विगतका वर्षहरूमा ग्राहकहरूको मन जित्दै आइरहेको थियो ।
त्यसैगरी दोस्रोमा किङलङको १८८ वटा बुकिङ भएको छ । लामो रुटको लागि लक्जरीयस र कम्फर्टेवल यात्राका लागि किङलङका १९ सिटर, १६ सिटर र १५ सिटर भ्यान उपलब्ध छन् ।
त्यस्तै, नाडा अटो शोलाई लक्षित गरी सिजीले नेटा एक्स मोडल ल्याएको हो । ६ दिनमा १५५ वटा नेटा एक्स बुकिङ भएको कम्पनीले जनाएको छ । यस गाडीले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। नेटा एक्समा ८ वर्ष १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी दिएको छ। नेटा भी अन्तर्गतका गाडी ८६ वटा बुकिङ भएको छ ।
यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
आयोन वाई ब्राण्डको ७० वटा गाडी बुकिङ भएको छ ।
नाडा अटो शोमा ल्याएको नयाँ ब्राण्ड एक्सपेङको पनि ५७ वटा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।
रिडारा पनि सिजी मोटर्सले नाडा अटो शोको लागि ल्याएको नयाँ ब्राण्ड हो। यसको ४३ वटा गाडी बुकिङ भएको छ । यसमा ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको मोटर जडान गरिएको छ। यसले ३७७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
त्यसैगरी, अवतारको २२ वटा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । सिजी मोटर्सले नाडा अटो शो अवधिभर नै ग्राहकको ध्यान खिचेको थियो । अटो शोमा ४ नयाँ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सिजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ।