मर्सिडीज–बेन्ज र जीली ग्लोबलको ब्रान्ड ‘स्मार्ट’ अब नेपालमा, करोड माथि पर्ने छ मूल्य
काठमाडौँ । सीजी मोटर्सले नयाँ ईभी ब्राण्ड स्मार्टको दुई मोडल नेपालमा लञ्च गर्न लागेको छ । स्मार्ट ह्यास वान (Smart #1) र स्मार्ट ह्यास थ्री (Smart #3) नेपालमा लञ्च गर्न लागेको हो । जसले ईलेक्ट्रिक ड्राइभिङ्गमा आधुनिकताको नयाँ लहर ल्याउने विस्वास कम्पनीले गरेको छ।
यी गाडीहरु मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको हो। स्मार्ट मूलतः जर्मन ब्राण्ड हो । तर २०१९ मा जर्मनीको मर्सिडिज बेन्ज र चीनको जीलि होल्डिङ ग्रुपबीच ५०–५० प्रतिशत स्वामित्वमा विद्युतीय गाडी उत्पादन गर्ने गरी कम्पनी खुलेको थियो ।
चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी-सेगमेन्टको लागि तयार गरिएका हुन् । यी गाडीहरुले चालकलाई प्रिमियम प्रविधिको अनुभव सीजी मोटोकर्पले विज्ञप्तीमार्फत् जनाएको छ ।
विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्री भइसकेको छ । यसले यो नयाँ ब्रान्डलाई छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउन सफल बनाएको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै ‘फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ’ प्राप्त गरेका छन् ।
अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव–प्रविधिजस्ता विशेषता स्मार्टमा सामेल छन्। यी गाडीले नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने सीजी मोटोकर्पले जनाएको छ ।
यो गाडी भर्खरै नेपाल भित्रिएको छ । यसको मूल्य तय हुन बाँकी रहेको विक्रेता सीजी मोटोकर्पले जनाएको छ । तर लक्जरी एसयुभी भएका कारण यसको मूल्य १ करोड रुपैयाँ भन्दा बढी हुने अनुमान गरिएको छ । कम्पनीले दशैँ अघि नै ‘डेलिभर’ गरिसक्ने गरी विक्री अघि बढाउन लागेको जानकारी दिएको छ ।