एकै महिना भित्रिए १ हजार २२१ वटा विद्युतीय गाडी, चिनियाँ ब्रान्डको कब्जामा नेपाली इभि बजार
काठमाडौं । नेपालमा ठुलो परिणामा विद्युत सवारी (कार,जीप र भ्यान) भित्रिएको छ ।एकै महिना १२०० बढी विद्युतीय सवारी नेपाल भित्रिएको हो ।
भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार भदौ महिनामा मात्रै १ हजार २२१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । चालु आवको दुई महिनामा भने १ हजार ६०२ वटा इभी आयात भएको विभागले जनाएको छ । हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।
गत साउनमा महिनामा भने ८९ करोड ७० लाख रुपैयाँ बरारबको ३८१ वटा मात्रै इभि आयात भएको थियो । तर, भदौमा भने ३.२० गुणा बढी इभि आयात भएको छ । भदौमा २ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको इभि आयात भएको हो ।
चालु आवको दुई महिनामा विद्युतीय सवारी आयातबाट सरकारले २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
विशेष गरि गत भदौ ११ गतेदेखि १६ गतेसम्म नाडा अटो शो २०२४ संचालन भएको थियो । जुन अटोमोबाइल क्षेत्रकै कुम्भ मेला पनि हो । सोही नाडा अटो शो लक्षित गरि व्यापारहरुले भदौमा ठुलो संख्यामा इभि नेपाल ल्याएका हुन् ।
अटो शोमा विश्व बजारका दुई दर्जन बढी ब्रान्डका इभिहरु प्रदर्शनीमा राखिएको थियो । नाडा अटो शो लक्षित आयातले पनि भदौमा इभि आयातको आँकडा ह्वात्तै बढेको बताइन्छ । यद्यपि, नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज बढ्दो नै छ । बजार माग नै उच्च रहेकाले आयात पनि वर्षेनि बढेको व्यवसायीहरु बताउँछन् । सरकारले पनि विद्युतीय सवारीलाई नीति मार्फत नै प्रोत्साहन गरेकाले थप सहजता भएको उनीहरुको भनाई छ ।
केही नीतिगत लचकताका साथै, बैंक तथा वित्तीय संस्थाहरुले सहज फाइनान्सको सुविधा प्रदान गरेका छन् । अधिकांश विद्युतीय गाडी खरिदमा विभिन्न स्किम नै ल्याएका छन्। यसले पनि इभि व्यापार बढी रहेको बताइन्छ ।
विभागका अनुसार साउन र भदौ महिनामा १०० किलोवाट क्षमतका इभि धेरै आयात भएको छ । सो अवधिमा ५१ देखि १०० किलोवाट क्षमताका ९३८ वटा इभि आयात भएको हो । यस्तै, ५० किलोवाट तौल क्षमताका ५६० वटा, १०१ देखि २०० किलोवाटका ९९ वटा, २०१ देखि ३०० सम्मका ३ र ३०० किलोवाट मोटर पिक पावर भएका २ वटा इभि आयात भएका छन् ।
नेपालमा चिनिया इभिको वर्चश्व देखिएको छ । नेपाली सडकमा गुड्ने इभि ७० प्रतिशत बढी चिनियाँ ब्रान्डका छन् । समिक्षा अवधिमा पनि चीनबाट विभिन्न तौल क्षमताका १ हजार १२५ वटा इभि आयात भएको विभागले जनाएको छ । यो कुल आयातको ७०.२३ प्रतिशत हुन आउँछ । चीनबाट २ अर्ब ९२ करोड ८८ लाख रुपैयाँ बराबरको इभि आयात भएको हो ।
यस्तै, भारतबाट भने दुई महिनामा ५५ करोड ९३ लाख रुपैयाँ बराबरको २७६ वटा इभि आयात भएका छन् । यता, जर्मनी र अमेरिकाबाट भने १÷१ युनिट इभि आयात गरिएको विभागले जनाएको छ ।