चाडपर्वले अटो बजारमा रौनकताः दशैंमा १५ लाखसम्म कम मूल्यमा गाडी किन्न पाइने, कुन ब्रान्डको कस्तो अफर ? « Arthapath.com
८ आश्विन २०८१, मंगलवार

चाडपर्वले अटो बजारमा रौनकताः दशैंमा १५ लाखसम्म कम मूल्यमा गाडी किन्न पाइने, कुन ब्रान्डको कस्तो अफर ?



काठमाडौँ । यति बेला नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् चाड वडा दशैँ, तिहार तथा छठ पर्वहरु नजिकिएको छ । नजिकिएको चाडपर्व लक्षित गरि अटो व्यापारीहरुले विभिन्न प्रकारका अफरहरु धमाधम ल्याईरहेका छन् ।

व्यापार बढाउन विभिन्न गाडी विक्रेता कम्पनीहरूले चाडपर्व लक्षित अफर अघि सारेका छन् । विगत केही वर्षदेखि सुस्ताएको अटो बजार चलायमान बनाउन गाडी वितरक कम्पनीहरूले विभिन्न स्किम ल्याउने गरेका हुन् ।

दसैँ तिहारजस्ता ठुला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । सोही अवसर पारेर बिक्रेताहरुले ग्राहक आकर्षण गर्नका लागि भारी नगद छुट र विदेश भ्रमणसम्मका योजना अघि सारेका छन् ।

कम्पनीहरुले ल्याउने यस्ता किसिमका अफरले नयाँ गाडी खरिद गर्न चाहनेहरूलाई धेरै नै आकर्षित गर्ने गरेको पाइन्छ । चाडपर्वमा कम्पनीहरुले ल्याउने अफरमा सवारी गर्दा आकर्षक नगद छुट लगायतका विभिन्न सुविधाले नयाँ साधान खरिदमा निकै प्रोत्साहन गरिरहेको छ ।

गाडी कम्पनीहरूले चाडबाडको समयमा नगद छुट, बीमाको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सहज रूपमा सस्तो किस्ता बन्दी लगायतका योजना धमाधम ल्याइरहेका छन् । जसका कारण नयाँ सवारी खरिदको योजना बनाएका ग्राहकका लागि यस्ता अफर निकै लाभदायी बन्ने गरेको छ ।

यसपालिको दशैंमा चार पाङ्ग्रे सवारीमा कस्तो छ त अफरहरु ?

निसानको नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ योजना ल्याएको छ । चाडपर्व लक्षित अफरअन्तर्गत निसान गाडीको खरिदमा विभिन्न सुविधा उपलब्ध छन् ।

कम्पनीका अनुसार निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल मोडलका गाडी खरिद गर्ने ग्राहकहरूले विशेष छुट पाउनेछन् ।

निसान गाडी बुकिङ गर्ने ग्राहकलाई १ वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क उपलब्ध गराइने कम्पनीले बताएको छ । यस्तै, गाडीको खरिदमा ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिने व्यवस्था पनि कम्पनीले ल्याएको हो ।

दशैंमा हुन्डाईका गाडी खरिदमा १० लाख छुट

दशैं तिहारको अफरमा हुन्डाई गाडी खरिदमा १० लाख रुपैयाँ छुट पाइने भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको ‘फेस्टिभ डिलाइट–२०८१’ योजना अन्तर्गत हुन्डाई गाडी खरिदमा सो बराबरको नगद छुट पाइने भएको हो । यस्तै, स्क्र्याच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका र १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै एक भाग्यशाली ग्राहकले मेड इन नेपाली हुन्डाई भेन्यू लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ल्याएको यसै अफरमा हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ ।

होण्डका कार ५ लाख छुट, दुई वर्षको बीमा

होण्डा कार खरिदमा भने ५ लाख रुपैयाँ नगद छुट पाइने भएको छ । नेपालमा होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले चाडपर्व लक्षित अफरमा यस्तो सुविधा पाइने भएको हो । चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ ल्याएको छ ।

दशैंमा होण्डाका कुनै पनि मोडलका गाडीको खरिदमा ५ लाखसम्म नगद छुट पाइने छ भने २ वर्षका लागि गाडीको बीमा सुविधा पनि रहेको छ । यसका साथै ५ वर्षमा १० वटा सर्भिसिङको सुविधा पनि निःशुल्क उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई थप आकर्षित गर्न कम्पनीले ‘फ्री एक्सेसरिज’ र ‘स्पट एक्सचेन्ज’ को पनि सुविधा दिने भएको छ । यस्तै, ग्राहकहरूलाई ‘रोड साइड असिस्टेन्स’ को सुविधा दिनुका साथै २ वर्ष अथवा कार एक लाख किलोमिटर चलाएसम्म वारेन्टी दिने कम्पनीले जनाएको छ ।

सुजुकी कार किन्दा ४ लाखसम्म छुट पाइने, १ लाखसम्मको एक्सचेञ्ज बोनस

यसपालिको दशैं अफरमा सुजुकी कार किन्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाइने छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस्तो सुविधा दिइएको हो । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ नामक अफर ल्याएको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा सुविधा पाइने छ । यस्तै, अफरमा २० हजारसम्मको लोयल्टी बोनस र २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधा रहेको कम्पनीले जनाएको छ । यसका साथै सिट कभरसहितको एक्सेसरिज पाउन सकिने छ ।

नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारहरू अनुसार भिन्न–भिन्न छुट सुविधाहरू लागू हुने कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सको सिट्रोन गाडी साढे ७ लाख डाउपेमेन्टमै खरिद गर्न पाउने

सांग्रिला मोटर्सले पनि चाडपर्व लक्षित विशेष अफर ल्याएको छ । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ ईभी गाडी खरिद गर्दा आकर्षक अफर ल्याएको हो ।

सिट्रोनोट सी–३ खरिदमा ४ वर्षका लागि निःशुल्क पेट्रोल र निःशुल्क मर्मत सम्भार हुने कम्पनीले जनाएको छ । यस्तै, १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउनेछन् । सिट्रोन ईसी–३ साइनको खरिदमा विशेष नगद छुट, निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिट्रोनको गाडी खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपेमेन्ट गरे पुग्नेछ ।

फक्सवागन गाडी खरिदमा ४ लाख रुपैयाँ छुट, १० लाखसम्मको फाइदा उठाउन सकिने

यो वर्षको दशैं तिहारको अफरमा फक्सवागन ब्रान्डको गाडी खरिदमा भने ४ लाख रुपैयाँ नगद छुट पाइने छ । फक्सवान गाडीका लागि आधिकारिक बिक्रेता पुजा इन्टरनेशनलले यस्तो सुविधा दिइएको हो ।

दशैं तिहार लक्षित अफर ‘फक्सवागन फेस्टिभ फ्रिडम’ मा गाडी खरिदमा ४ लाख रुपैयाँ नगद छुट, ४ वर्षसम्मको निःशुल्क सर्भिस सुिवधा पाइनेछ । समग्रमा अफरमा १० लाख रुपैयाँसम्मको फाइदा उठाउन सकिनेछ ।

यसका साथौ एक वर्षको सडक कर र एसेसरिज निःशुल्क प्राप्त गर्न सकिने छ । यसका साथै स्पेयर पार्टस खरिदमा ३ वर्षसम्म १५ प्रतिशत छटको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा पनि रहेको छ ।

दशैंमा वुलिङका गाडी किन्दा २ लाख छुट

दशैंमा वुलिङ गाडी खरिदमा भने २ लाख रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि वुलिङका गाडीको बिक्रेता पारामाउन्ट मोटर्सले दशैंलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । कम्पनीका अनुसार दशैंमा वुलिङ विङ्गो किन्ने ग्राहकले २ लाख नगद छुट पाउनेछन् ।

हाल कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । तर, अफर अवधिभरमा खरिद गर्दा भने २९ लाख ९९ हजार पर्नेछ ।

टाटा मोटर्सको विदेश भ्रमणको अफर

टाटा मोटर्सले पनि यसपालिको दशैं तिहार लक्षित गरि गाडी खरिदमा विदेश भ्रमणको अफर ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यस्तो अफर ल्याएको हो ।

टाटाको प्रत्येक कमर्शियल गाडी खरिदकर्ताले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक लिन सक्नेछन् । योजनामा होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रीज, एसी, टीभी, माइक्रो वेभ छन् । ग्याजेटअन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाचको समावेश गरिएको छ । यसैगरी टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई र युरोप जान सकिने छ ।

यसका साथै ग्राहकहरूले यो चाडपर्वको अवसरमा गाडी बुकिङ गर्दा स्मार्ट वाच वा इयरपड पाइनेछ । सिप्रदीका अनुसार टाटाका जुनसुकै मोडलका गाडीको खरिदमा उक्त अफर लागू हुनेछ ।

किया गाडीमा ४ लाख नगद छुट

यो वर्षको दशैं अफरमा किया गाडी खरिदमा भने ४ लाख रुपैयाँसम्मको नगद छुट पाइने भएको छ । किया गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ्गले यस्तो अफर ल्याएको हो ।

अफरमा किया कार किन्दा ४ लाख रुपैयाँ छुट पाइने छ । ३ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस सुविधा र एक वर्षको सडक कर र बीमा सुविधा निःशुल्क पाइनेछ । समग्रमा ८ लाख रुपैयाँसम्मको फाइदा लिन सकिने छ ।

ग्रेटवाल मोटर्सको सवारी खरिदमा नगद छुट

ग्रेटवाल मोटर्सको गाडी खरिदमा पनि विभिन्न छुट सुविधा पाइने भएको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले विभिन्न छुट अफर ल्याएको हो ।

कम्पनीले एक वर्षसम्मको बीमा निःशुल्क हुने जनाएको छ। यसका साथै सडक कर र एसेसरि र सर्भिस निःशुल्क हुने कम्पनीले जनाएको छ। यस्तै, विशेष बोनसको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

विवाइडीका गाडी खरिदमा निःशुल्क बीमा र चार्जर

यो वर्षको दसैं अफरमा विवाईडीको विभन्नि गाडी खरिदमा पनि आकर्षक छुट लगायतका सुिवधा पाइने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेन्स इंकले एक वर्षसम्मको निःशुल्क बीमा सुविधा दिने भएको हो । यसका साथै भेहिकल टु लोड र २.३ किलोवाटको ट्राभल चार्जर पाइने कम्पनीले जनाएको छ । विशेषगरि यो अफर विवाइडीको एटो थ्री र डल्फिनमा लागू हुने कम्पनीले जनाएको छ ।

एमजी गाडी खरिदमा ६ लाख रुपैयाँसम्म कम मूल्य

यसपालिको दशैं अफरमा एमजी गाडी खरिदमा विभिन्न छुट पाइने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यस्तो अफर ल्याएको हो । एमजीको जेड्एस इभीमा ६ लाख रुपैयाँ मूल्य कम लाग्ने कम्पनीले जनाएको छ । अब जेडएस ४६ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न पाइने भएको हो ।


प्रतिक्रिया दिनुहोस्