नेपाललाई ‘प्राथमिकताको बजार’ भन्दै बीवाईडीले के कुराको प्रष्टिकरण दियो ? « Arthapath.com
१३ आश्विन २०८१, आईतवार

नेपाललाई ‘प्राथमिकताको बजार’ भन्दै बीवाईडीले के कुराको प्रष्टिकरण दियो ?



काठमाडौँ । संसारको सबैभन्दा ठूलो विद्युतीय कार ब्राण्ड बीवाईडीले नेपाली बजारलाई प्राथमिकतामा राखेको जनाएको छ । बीवाईडी ग्लोबलले नेपालको विद्युतीय सवारी (ईभी) क्रान्तिमा आफूहरुको भूमिका सर्वाधिक महत्वपूर्ण रहेको भन्दै यस्तो बताएको हो ।

आफ्नो कुल विक्रीको करीब ९० प्रतिशत हिस्सा घरेलु बजार अर्थात् चीनभित्रै बेचे पनि विश्वब्यापी रुपमा ९० लाख गाडी विक्री गरिसकेको कम्पनीले ३ हजार गाडी बेचिएको नेपाली बजारको सन्दर्भमा यस्तो बताएको हो ।

हालैमात्र बीवाईडी एट्टो ३ को २०२४ भर्सन नेपालमा लञ्च भएसँगै बीवाईडी ग्लोबलले प्रेस वक्तव्य निकालेर यस्तो बताएको हो । उसले वक्तव्यमा भनेको छ, ‘नेपालले विद्युतीय सवारीसाधनलाई राम्रोसँग अँगालेको छ, त्यसमा पनि बीवाईडी एट्टो ३ ले नेतृत्व गरिरहेको छ ।’

दुई वर्षभन्दा कम अवधिमा नेपालमा एउटै मोडलको ३ हजारभन्दा बढी गाडी विक्रि भइसकेको बीवाईडी ग्लोबलले जनाएको छ । यो गाडीले नेपालमा सबैभन्दा धेरै विक्री हुने एसयुभीको लोकप्रियता हासिल गरेको दाबी पनि कम्पनीको छ ।

नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन कम्पनी उत्साहित रहेको वक्तव्यमा भनिएको छ । एट्टो ३ को नयाँ भर्सनले नेपालको ईभी बजारमा आफ्नो नेतृत्वदायी भूमिकालाई अझ दर्बिलो पार्ने विस्वास कम्पनीको छ ।

अतिरिक्त फिचर्स सहित नयाँ भर्सन

एट्टो ३ को नयाँ भर्सनमा केही फिचर्सहरु थपेर ल्याइएको छ । पहिलेको १२.८ इञ्चको स्क्रिनलाई अब १५.६ इञ्च बनाइएको छ । इन्टेरियर र एक्टेरियर अर्थात् गाडीको बाहिर र भित्र नयाँ ‘कलर अप्सन’ दिइएको छ । यसबाहेक गाडीको पछाडिपट्टी ‘बिल्ड योर ड्रिम्स’ लेखिएकोमा अब त्यसलाई हटाएर यसको छोटो रुप ‘बीवाईडी’ लेखिएको आकर्षक लोगो लगाइएको छ ।

त्यस्तै नविनतम ‘क्याम्पिङ मोड’ सहितको ‘बीवाईडी इन्टेलिजेन्ट ककपिट सिस्टम’ सुरुआत गरिएको छ । यो फिचरले आउटडोर जाँदा चालक वा गाडी मालिकलाई उन्नत सुविधा दिन्छ ।

प्रष्टिकरण

बीवाईडी ग्लोबलले जारी गरेको उक्त प्रेस वक्तव्यले नेपाललाई आफ्नो ‘प्राथमिकताको बजार’ मात्रै भनेको छैन, केही पुराना आरोर र द्वीविधाहरुमाथि पनि प्रष्टिकरा दिएको छ । पछिल्लो समय नेपालमा गाडीको मोटर क्षमताबारे प्रश्न उठिरहेको सन्दर्भलाई यो वक्तव्यले सम्बोधन गरेको देखिन्छ ।

उसले सन् २०२२ को अक्टोबरमा बीवाईडीको १५० किलोवाट मोटर क्षमताको एट्टो ३ औपचारिक रुपमा लञ्च भएको वक्तव्यमा भनेको छ । तर २०२३ को फेब्रुअरीमा भने त्यही गाडी १०० किलोवाट मोटर क्षमतामा लञ्च भएको उल्लेख छ ।

अहिले आएको एट्टो ३ को २०२४ भर्सन पनि १०० किलोवाट मोटर क्षमतामै आएको कम्पनीले प्रष्ट पारेको छ ।

यस बाहेक बीवाईडीको आधिकारीक विक्रेताका सन्दर्भमा पनि पाटन उच्च अदालतमा मुद्दा विचाराधिन छ । बीवाईडी ग्लोबलले यसै वक्तव्य मार्फत् भनेको छ, ‘बीवाईडी अटो इन्डस्ट्री कम्पनी लि.को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रालि हो ।’

बीवाईडीले नेपालमा एसेम्बल प्लान्ट लगाउने प्रयास अघि बढाउँदै गर्दा अन्य विदेशी साझेदारसँग पनि छलफल गरेका खबरहरु आइरहेको समयमा बीवाईडी ग्लोबलको यस वक्तव्यले स्पष्टिकरण दिन खोजेको छ ।


प्रतिक्रिया दिनुहोस्