असोजमा दुईपांग्रे सवारीको बजार भयो बूम, विक्रीमा कुन ब्राण्ड अगाडी ?
काठमाडौँ । लामो समयदेखि समस्या भोगिरहेको अटोमोबाइल क्षेत्रको दुईपांग्रे सेग्मेन्टलाई पनि यो दशैँले बुलन्दी ल्याइदिएको छ । एक महिनामै कम्पनीहरुले २१ हजार ५६७ थान मोटरसाइकल र स्कुटर विक्री गरेका छन् ।
शीर्ष चार कम्पनीले भदौको तुलनामा १२२ प्रतिशतले ब्यापार बृद्धि गरेका छन् । अहिले पनि दुईपांग्रेको बजारमा होण्डा नै शीर्ष स्थानमा छ । उसका स्कुटरको विक्रीले राम्रो रफ्तार समातेको छ ।
टीभीएसका स्कुटर पनि उल्लेख्य मात्रामा विक्री हुन थालेका छन् । प्रिमियम सेगमेण्टमा रहेको यामाहाका स्कुटरहरुमा आकर्षण त छ, तर उसका खरीदकर्ताको संख्या भने केही कम देखिएको छ । स्कुटर बेच्न नसकेको बजाज मोटरसाइकल सेगमेन्टमा भने देशकै अग्रणीमध्येको पर्छ ।
यी चार कम्पनीले गत भदौमा जम्मा ८ हजार ५० थान सवारी साधन विक्री गरेकोमा असोजमा १७ हजार ९०१ पुगेको छ ।
असोजको आँकडलाई आधार मानेर बजार हिस्सा हेर्ने हो भने होण्डाको २९ प्रतिशत, टीभीएसको २० प्रतिशत, बजाजको १८ प्रतिशत, यामाहाको १६ प्रतिशत र अन्य सबै ब्राण्डको १७ प्रतिशत बजार हिस्सा रहेको देखिन्छ ।
टु ह्वीलर्स व्यवसायीले तिहार र छठको अवसर पर्ने भएका कारण कात्तिकमा पनि विक्री केही माथि नै हुने अनुमान गरेका छन् ।