हिरोले सार्वजनिक गर्यो २१० सीसीको नयाँ एक्सपल्स, अफरोड पारखीहरुका लागि ‘डबल मज्जा’ « Arthapath.com
२१ कार्तिक २०८१, बुधबार

हिरोले सार्वजनिक गर्यो २१० सीसीको नयाँ एक्सपल्स, अफरोड पारखीहरुका लागि ‘डबल मज्जा’



काठमाडौँ । पछिल्लो समय नेपालमा उच्च क्षमताका स्टाइलिस मोटरसाइकल प्रति रुची बढ्न थालेको छ । मानिसहरुको बढ्दो क्रयशक्ति र विषम भूगोलका कारण शक्तिशाली अफरोड मोटरसाइकलमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।

यस्तै दुईपांग्रे सवारी बजारमा रुचाइएको एक मोडल हो– हिरोको एक्सपल्स । सुरुमा भी टु र पछि स्तरोन्नती सहित भी फोर मोटरसाइकल आउँदा नेपालमा राम्रै ब्यापार भएको थियो । हिरोको माथिल्ले रेञ्जमा सबैभन्दा रुचाइएको मोडल पनि यही हो ।

तर समय बित्दै जाँदा अझ नयाँ, अझ शक्तिशाली र अझ आकर्षक मोडलको अपेक्षा सबै उपभोक्ताले गरेका हुन्छन् । एक्सपल्सका पारखीको पनि यही अपेक्षा छँदै थियो । तर अब ती उपभोक्ताका लागि नयाँ विकल्प तयार भएको छ । लामो प्रतिक्षापछि हिरो मोटोकर्पले एक्सपल्स २१० सार्वजनिक गरेको छ ।

कम्पनीले इटालीको मिलानमा जारी इआईसीएमए (इक्मा) अटो शो २०२४ मा एक्सपल्स २१० सार्वजनिक गरेको हो । यही मोटरसाइकल हिरो मोटोकर्पले आगामी जनवरीमा भारतमा आयोजना हुने मोबिलिटी शो २०२५ मा समेत प्रदर्शन गर्ने भएको छ । त्यसको केही समयपछि कम्पनीले एक्सपल्स २१० बिक्री सुरू गर्ने भएको छ ।

हिरो मोटोकर्पले हालै सार्वजनिक गरेको नयाँ एक्सपल्समा पुरानो एक्सपल्स २०० को नभएर करिज्मा २१० मा प्रयोग भएको इन्जिन प्रयोग गरिएको जनाएको छ । यो इञ्जिन पहिलेको भन्दा ज्यादा शक्तिशाली र शानदार भएको कम्पनीको भनाइ छ ।

कम्पनीले एक्सपल्स २०० फोर भी कै जस्तो डिजाइनमा एक्सपल्स २१० तयार पारेको छ । तर यसको बडी लुक्समा भने निकै फरक देखिएको छ । खासगरी फ्युल ट्यांकी र त्यस वरपरको भाग तथा सीटको डिजाइन परिवर्तन गरिएको छ । नयाँ एक्सपल्समा अझै अफरोड प्रेरित डिजाइन ल्याइएको कम्पनीले जनाएको छ ।

यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलका फ्रन्टमा ४३ एमएम फुल्ली एड्जष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचेबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्माट कनेक्ट फिचर उपलब्ध छ ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसको पावर भने करिज्माकोभन्दा केही कम हो । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।

यसको मूल्य बारे कुनै जानकारी बाहिर नआए पनि भारतीय बजारमा सार्वजनिक हुँदा १ लाख ५५ हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । रोडमा निस्कँदासम्म भारु २ लाख वा त्योभन्दा कम मूल्य हुनसक्ने अनुमान गरिएको छ । नेपालमा भने यो मोटरसाइकल अहिलेको २०० सीसीको तुलनामा १५ देखि २० हजार रुपैयाँ महँगो पर्नसक्ने अड्कल गरिएको छ ।

नेपालमा अहिले एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ६५ हजार छ । फोर भी प्रोको मूल्य ४ लाख ८५ हजार छ । गत वर्षसम्म टु भीको मूल्य ४ लाख ४ हजार र फोरभीको मूल्य ४ लाख ५४ हजार रुपैयाँ थियो ।

यसअघि २०० सीसी क्षमतामा मात्रै मोटरसाइकल ल्याइरहेको यो मोडलले २१० सीसी भेरियन्टमा पनि ल्याएको हो । तर अब २१० सीसी भेरियन्ट बजारमा आइसकेपछि पुरानो २०० सीसी भेरियण्टको उत्पादन बन्द हुनसक्ने आँकलन पनि गरिएको छ ।

नयाँ भेरियन्टमा आउने एक्सपल्सले होण्डाको एक्सआर १९० एल मोडलसँग प्रतिस्पर्धा गर्ने ठानिएको छ । एक्सपल्सले परिवर्तन गरेको लुक्स पनि होण्डाको यो मोडलसँग अधिकतर मिल्दोजुल्दो छ । होण्डाको यो बाइकको मूल्य भने ७ लाख ७० हजार पर्छ । त्यसो हुँदा एक्सआरका ग्राहक एक्सपल्सतर्फ आकर्षित हुनसक्ने संभावना छ । किनकी, यो मोटरसाइकल एक्सआरको तुलनामा डेढ लाखभन्दा धेरै सस्तो पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्