नेटालाई मिल्यो सरकारी साथ, ५० प्रतिशत खर्च कटौति गरेर नयाँ रफ्तारमा आउने
काठमाडौँ । नेटा (चीनियाँमा ‘वाङ’ भनिन्छ) ब्राण्डमा गाडी उत्पादन गर्ने कम्पनी होचोङ मोटर्सले अन्ततः स्थानीय सरकारबाट वित्तीय सहायता पाउने भएको छ । त्यहाँको नाननिङ्ग नगर सरकारले सहयोग गर्न थालेसँगै उसलाई बन्द उद्योग पुनः सञ्चालन गर्ने बाटो खुलेको छ ।
अहिले नेटा अटोले चीनमा आफ्नो टीमको पुनर्गठन सुरु गरेको सीएन–ईभी पोस्टले लेखेको छ । उक्त पोर्टलका अनुसार स्थानीय मिडियाले प्रकाशित गरेको एक रिपोर्टमा समाचार सूत्रको हवाला दिँदै भनिएको छ, ‘नाननिङ्ग औद्योगिक लगानी समूह अब नेटाको माऊ कम्पनी होचोङ मोटर्समा रणनीतिक साझेदारको भूमिकामा प्रवेश गरेको छ ।’
उक्त समूहले कम्पनीको आपूर्ति श्रृङ्खलामा आवस्यक वित्तीय सहायता प्रदान गर्ने जनाइएको छ । उक्त समूहले नेटालाई कच्चा पदार्थ, उत्पादन र लजिस्टिक लगायतलाई व्यवस्थित गर्न सघाउने छ ।
यस घटनासँगै अब नेटालाई अब आफ्ना विदेशी मोडलको उत्पादन र वितरणमा पनि मद्दत मिल्ने भएको छ । साथै नेटाको अन्तरराष्ट्रिय बजार अझै विस्तार हुने र आपूर्ति श्रृङ्खलाको स्थायित्व सुनिश्चित हुने ठानिएको छ ।
यो औद्योगि समूहको स्थापना सन् २०१३ मा नाननिङ्ग शहर सरकारको नेतृत्वमा भएको थियो । यसको मुख्य काम भनेकै औद्योगिक व्यवसायमा लगानी र व्यवस्थापन गर्ने, पार्कहरु बनाएर सञ्चालन गर्ने र सम्पत्ति व्यवस्थापन गर्ने रहेको नाननिङ्ग सरकारको वेबसाइटमा उल्लेख छ ।
होचोङ मोटर्सको स्थापना चाहीँ सन् २०१४ मा भएको थियो । यसलाई २०१७ को अप्रिलमा मात्रै चीनको राष्ट्रिय विकास एवम् सुधार आयोगले अटोमोबाइल्सको उत्पादन गर्ने अनुमति दिएको थियो ।
नेटा ब्राण्डले चीनमा नेटा एक्स, नेटा जिटी, नेटा एस, नेटा आया, नेटा एलजस्ता मोडलमा गाडी उत्पादन गरेको छ । चीनमा यी गाडीहरुको मूल्य १ लाखदेखि २ लाख युआन (१८ देखि ३७ लाख नेपाली रुपैयाँ)का बीचमा छ ।
यसैसाल जुन महिनामा होचोङ मोटर्सले हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत हुन आवेदन दिएको थियो । तर त्यसमा कुनै उपलब्धि हासिल हुन नसकेपछि कम्पनी गम्भीर नगद अभावमा परेको थियो । यही कारण कम्पनीले ब्यापक मात्रामा कर्मचारी कटौति गर्न थालेको र त्यसरी कटौति हुने कर्मचारीको संख्या कुल कर्मचारीमध्ये ७० प्रतिशतसम्म पुग्नसक्ने भनेर नोभेम्बर ७ मा समाचार आएका थिए ।
पछिल्ला खबरहरुले कम्पनीको प्रमुख रणनीतिक पुनर्गठन सुरु भएको र अब आफ्ना विभागहरु गाभ्ने एवम् कर्मचारी कटौति गर्ने योजना पनि सँगसँगै चलिरहेको जनाइएको छ । यस अभियानबाट नेटाको संस्थागत सञ्चालन प्रभावकारीता बढ्ने र करीब ५० प्रतिशतले खर्च कटौति हुने ठानिएको छ ।
समाचारहरुमा जनाइए अनुसार अब कम्पनीले विदेशी बजारमा आफ्ना गाडी बेच्न ज्यादा ध्यान केन्द्रित गर्ने रणनीति अघि सारेको छ । यससँगै सन् २०२५ को फेब्रुअरीसम्म विद्यमान नगद प्रवाहको संकटबाट कम्पनीलाई बाहिर निकाल्ने योजनामा काम सुरु भएको छ ।
नेटाले गत साता अर्थात् १२ नोभेम्बरमा मात्रै बोलिभियाको सबैभन्दा ठूलो अटो विक्रेता समूह ग्रुपो साभेन्द्रासँग बोलिभियामा नेटाका गाडी विक्री गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको थियो । उसले आगामी मार्चसम्म बोलिभियामा पहिलो शोरुम खोलिसक्ने र आगामी वर्षभरीमा त्यहाँ १० वटा विक्री केन्द्रहरु स्थापना गर्ने योजना अघि सारेको छ ।
चीनका अधिकांश न्यू इनर्जी भेहिकल कम्पनीहरुको विक्री अक्टोबरमा बढेको देखिएको छ । तर नेटाले आफ्ना स्थानीय प्रतिस्पर्धीहरुले जसरी अक्टोबरको विक्री (डेलिभरी)को आँकडा जारी गरेको छैन । समाचारहरुमा जनाइए अनुसार नेटाले गत सेप्टेम्बरमा १०,११८ गाडी विक्री गरेको थियो, जुन वार्षिक रुपमा २३.४१ प्रतिशत र अगस्टको तुलनामा ८.०६ प्रतिशत कम हो ।
जनवरी र जुलाईलाई छाड्ने हो भने साल २०२४ मा नेटाको विक्री अघिल्लो वर्षभन्दा घटेको थियो । त्यसैले कम्पनीले १५ दिनका लागि चीनको मुख्य उद्योग नै बन्द गर्नु परेको थियो ।