नेपाल भित्रिए झन्डै साढे ८ अर्बका ३ हजार ४८७ वटा इभि, कहाँबाट कति आयो ? « Arthapath.com
९ मंसिर २०८१, आईतवार

नेपाल भित्रिए झन्डै साढे ८ अर्बका ३ हजार ४८७ वटा इभि, कहाँबाट कति आयो ?



काठमाडौं । चार महिनामा ३४ सय बढी विद्युत सवारी आयात भएका छन् । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा विभिन्न तौल क्षमतका ३ हजार ४८७ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन् । चार महिनाको अवधिमा ८ अर्ब ३७ करोड ९ लाख रुपैयाँ बराबरको इभि आयात भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २५.११ प्रतिशत बढी हो । गत आवको पहिलो साउनदेखि कात्तिकसम्ममा ६ अर्ब ८३ करोड २७ लाख बराबरको २ हजार ७८७ वटा इभि आयात भएका थिए ।

अहिले औसत मासिक ८७१ वटा इभि नेपाल भित्रने गरेका छन् । विभागका अनुसार कात्तिक महिनामा मात्रै ९६९ वटा आयात भएका छन् । यस्तै, गत असोजमा ९१६ वटा, भदौमा १ हजार २२१ वटा र साउनमा ३८१ वटा इभि नेपाल भित्रिएका थिए । चार महिनामा इभि आयातबाट सरकारले ५ अर्ब १९ करोड २० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, जर्मन लगायतबाट इभि आयात हुने गरेको छ । विभागका अनुसार ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि नेपाली बजारमा आउने गरेको छ ।

हाल नेपालमा १०० किलोवाटसम्मका इभि धेरै आयात हुने गरेको छ । चार महिनाको अवधिमा विभिन्न मुलुकबाट २ हजार११५ वटा इभि (५१ देखि १०० किलोवाट) आयात भएको छ । यो रकममा भने ५ अर्ब ४२ करोड ८७ लाख रुपैयाँ हो । यस्तै, १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको ५० किलोवाटका १ हजार ५० वटा, १०१ देखि २०० किलोवाटका ३१६ वटा र २०१ देखि ३०० किलोवाटका ६ वटा इभि आयात भएको छ ।

नेपाली इभि बजार चिनिया गाडीको कब्जामा देखिएको छ । कुल आयातको झन्डै ७२ प्रतिशत हिस्सा चिनिया गाडीको छ । विभागका अनुसार नेपालले चार महिनामै ६ अर्ब ५३ करोड ५७ हजार रुपैयाँ बराबरको आयात भएको छ । सो महिनामा २ हजार ५१० वटा इभि चीनबाट आयात भएको हो ।

यस्तै, भारतबाट पनि १ अर्ब ७८ करोड १६ लाख रुपैयाँ बराबरको ९६९ वटा, जर्मन ४ करोड ५३ लाख बराबरको ६ वटा र अमेरिकाबाट ८२ लाख बराबरको २ वटा इभि आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्