युवा लक्षित ‘मीड–रेञ्ज’ मोटरसाइकलको मूल्य ५० हजार सस्तियो, स्वदेशी एसेम्बलको लाभ उपभोक्तालाई

काठमाडौं । कतिपय ब्राण्डले नेपालमा एसेम्बल गरे पनि आफ्ना उत्पादनको मूल्य नघटाएको तीतो विगतलाई चिर्दै सीएफमोटोले भने मूल्य घटाएको छ ।
चीनको प्रसिद्ध अटो निर्माता चच्याङ छुनफङ पावर कम्पनीले उत्पादन गर्ने सीएफमोटो ब्राण्डले नेपालमा आफ्नो उपस्थिति बढाउन स्वदेशी बजारमै एसेम्बल सुरु गरेको छ ।
कम्पनीले हालैमात्र स्वदेशमै मोटरसाइकल एसेम्बल गर्न थालेपछि एउटै साधनमा ५० हजार रुपैयाँ मूल्य घटाएको हो । कम्पनीले भर्खरैमात्र ‘सीएफमोटो २५० एनके’को मूल्य घटाएको हो ।
यसअघि ५ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री हुँँदै आएको यो मोटरसाइकल अब ५ लाख ४९ हजार ९०० रुपैयाँमै उपलब्ध हुने भएको छ ।
यसअघि तयारी मोटरसाइकल आयात गर्दै आएको कम्पनीले अहिले सीकेडी (कम्प्लीट नकडाउन किट) आयात गरेर स्वदेशमै एसेम्बल (जडान) गर्न थालेको छ । यसो गर्दा भन्सार विन्दुमा तिर्नुपर्ने कर कम लाग्ने भएका कारण मूल्य घटाउन सम्भव भएको हो ।
नेपालमा बजाज, यामाहा, रोयल इनफिल्ड, टीभीएस, सुजुकी, ट्रयाम्फजस्ता ब्रान्डले मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । यही सूचीमा अब सिएफमोटो पनि थपिएको छ।
रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले हालैमात्र नेपालमै एसेम्बल भएको ३०० एनके समेत सार्वजनिक गरेको थियो ।
सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २७.४ बीएच पावर र २२ एनएमको टर्क उत्पन्न गर्छ ।
यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यस मोटरसाइकलमा १२.४ लिटरको पेट्रोल ट्यांकी रहेको छ ।
नयाँ पुस्तालाई खुब मन पर्ने यो मोटरसाइकलले नेपालमा यामाहाको ‘एम १५’ सँग बजार प्रतिस्पर्धा गर्ने ठानिएको छ ।