सीट संख्या हेरफेर गरेर कर छली: ८५ वटा इभिमा अनियमितता, झन्डै ४ करोड असुल्न निर्देशन !

काठमाडौं । रसुवा भन्सार कार्यालय मार्फत चीनबाट आयात गरिएका ८५ थान विद्युतीय सवारी साधन (ईभि) मा भन्सारको दुरुपयोग गरी राज्यलाई झन्डै ४ करोड राजश्व घाटा पुयाईएको छ ।
महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार सो भन्सार नाका मार्फत आयात गरिएका ८५ थान इभिको कर दुरुपयोग गरि राज्यलाई करिब ३ करोड ९१ लाख रुपैयाँको राजस्व घाटा पु¥याइएको खुलेको हो ।
उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार एक आयातकर्ताले चीनको कम्पनीबाट के.वाई.सी.भी ५ मोडेलका ८५ थान विद्युतीय सवारीसाधन नेपाल भित्र्याएका थिए । ती सवारीसाधनको प्रति इकाई आयतन १५.०२ घनमिटर र तौल १ हजार ५७० किलोग्राम रहेको छ । बीजक, ढुवानी कागजात र प्रज्ञापनपत्रमा ती सवारीहरूलाई ‘प्यासेन्जर भ्यान’ भनेर उल्लेख गरिएको छ ।
तर, आर्थिक ऐन, २०८० को दफा २(१) तथा अनुसूची–१ को दफा १२(५) बमोजिम भन्सार शीर्षक ८७.०२ अन्तर्गत सवारीको सीट संख्या निर्धारण गर्दा ड्राइभरसहितको नियमित सीट मात्र गणना हुने व्यवस्था छ । कण्डक्टर सीट र फोल्डिङ्ग सीट भने सीट संख्यामा गणना नहुने स्पष्ट प्रावधान छ । वास्तविक रूपमा ती सवारीसाधन ९ सीटे मात्र ठहरिन्छन्, न कि ११ सीटे ।
तर भन्सार दस्तावेजमा अतिरिक्त सीट र फोल्डिङ्ग सीटसमेत समावेश गरी ११ सीटे सवारी देखाएर सवारीसाधनलाई ८७.०२ उपशीर्षक अन्तर्गत भन्सार छुट पाउने किसिमले वर्गीकृत गरिएको प्रतिवेदनमा उल्लेख छ । जबकि सो सवारीसाधन ८७०३.८०.५९ उपशीर्षकमा वर्गीकृत भई १५ प्रतिशत भन्सार शुल्क, १० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक दस्तुर र मूल्य अभिवृद्धि कर लाग्नु पर्ने व्यवस्था रहेको महालेखाले औँल्याएको छ ।
सोही आधारमा महालेखाले उक्त ८५ सवारीसाधनमा करछली भएको निष्कर्ष निकालेको हो । कुल ३ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरको रकम असुलउपर गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।
महालेखाको प्रतिवेदनले राज्यको राजस्व संकलन प्रणालीमा रहेको कमजोरीप्रति प्रश्न उठाउँदै भन्सार प्रशासनको ध्यानाकर्षण गराएको छ । यसअघि पनि विभिन्न भन्सार कार्यालयमा शीर्षक दुरुपयोग, कम मूल्यांकन तथा सवारीको प्राविधिक विवरणको गलत व्याख्याका कारण सरकारलाई ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै आएको छ ।