इभिको व्यापारले बढ्दैछ शशिला मोटर्सको कारोबार, हाइगर र किनोटको बलियो साथ

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधनको क्षेत्रमा सक्रिय शशिला मोटर्सको व्यापार बढ्दो छ ।
कम्पननीले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ५१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।
विशेषगरी हाइगर र किनोट ब्रान्डले आम्दानी बढाएको हो । हाइगर ब्रान्डका सवारी साधनबाट कुल आम्दानीको ६५ प्रतिशत र किनोट ब्रान्डबाट ३० प्रतिशत योगदान रहेको कम्पनीले जनाएको छ ।
कारोबारको आँकडा अनुसार २०२३ पछि कम्पनीको व्यापार बढ्दो क्रममा देखिन्छ । सन् २०२२ मा भने कम्पनीले सबैभन्दा धेरै १ अर्ब १० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा पनि कम्पनीले २४ करोड र सन् २०२४ मा ४३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
कम्पनीले व्यवसायिक विद्युतीय सवारीहरू सन् २०२४ को फेब्रुअरीदेखि नेपाली बजारमा बिक्री गर्न सुरु गरेको हो ।
सन् २०१४ मा स्थापना भएको कम्पनी आयर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डका इभिका लागि नेपालको आधिकारिक वितरक हो । यसका साथै, किया, इसुजु र कोमट्सु ब्रान्डका सवारी साधनको समेत व्यापार गर्दै आएको कम्पनीले विगतमा टाटा ब्रान्डका सवारी साधनको क्षेत्रीय वितरकका रूपमा काम गरे पनि सन् २०२३ देखि उक्त कारोबार बन्द गरिसकेको छ ।
स्वामित्वको हिसाबले सन्तोष खतिवडाले कम्पनीमा ४० प्रतिशत हिस्सा ओगटेका छन् भने आशिष पौडेल र एमएस कन्टिनेन्टल इन्भेष्टमेन्ट प्रालिको समान रूपमा ३०–३० प्रतिशत स्वामित्व छ ।
कम्पनीले हालसम्म अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ ।