करको हल्लामा व्यापारीको ईभी हमला : ठूलो परिणाममा नेपाल भित्रिए गाडी, के महँगो हुँदैछ मूल्य ?

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात आकस्मिक रुपमा वृद्धि भएको छ ।
लामो समयदेखि मासिक औसत ८–९ सयको हाराहारीमा रहँदै आएको इभी आयात पछिल्लो महिनामा भने दोब्बर बढेको छ । पछिल्लो एकै महिनामा झन्डै १९ सय इभि (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् ।
भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार बैशाखमा मात्रै १ हजार ८९२ वटा इभि नेपाल भित्रिएका छन् । सो महिनामा ४ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ बराबरको इभि आयात भएका छन् । यो संख्या र मूल्य दुबै हिसाबले हालसम्मकै उच्च हो । गत चैतमा १ अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरको ८७८ वटा मात्रै ईभी आयात भएका थिए । जबकि गत आवको साउनदेखि बैशाखसम्ममा भने २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ हजार ४९७ वटा इभि आयात भएका थिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा कर बढाउन सक्ने चर्चा चलिरहेका बेला व्यापारीहरू पूर्व तयारीमा जुटेको तथ्याङकले पुष्टि गर्छ । ५१ देखि १ सय किलोवाट क्षमताका ईभीको आयात बढेको देखिन्छ ।
राजस्व सङ्कलनमा दबाब खेपिरहेको सरकारले स्रोत विस्तार गर्न इभीमा कर बढाउन सक्ने सम्भावनाबारे व्यापक चर्चा भइरहेको छ । सोही आकलनसहित व्यापारीहरूले ‘बजेट अघिको रणनीति’ अपनाएका देखिन्छ ।
सम्भावित कर वृद्धिको आशंकामा व्यवसायीहरूले सस्तो दरमै इभी भित्र्याएर स्टक राख्ने रणनीति बनाएका छन्, ‘ताकि बजेटपछि मूल्यवृद्धिसँगै सोही स्टक महँगोमा बिक्री गर्न सकियोस् ।’
यद्यपि, सरकारले इभीलाई प्रोत्साहन गर्ने नीति लिएको बताउँदै आएको छ । तर, बजारमा कर वृद्धिको चर्चा र व्यापारीको हतार हेर्दा नीतिगत अन्योल स्पष्ट देखिन्छ ।
कर संरचना फेरबदल हुनसक्ने चर्चा ईभि बजार तातेको छ । ईभी आयातमा अहिले लाग्ने न्यूनतम कर अर्थात् भन्सार महसुल र अन्तःशुल्क करिब १०–१५ प्रतिशत हाराहारीमा रहेको छ । तर, आगामी बजेटमार्फत यो करभार झन्डै ४० प्रतिशतसम्म पुग्नेगरी परिवर्तन हुने हल्ला फैलिएको छ ।
सरकारले ईभीमा कर बढाउने नीतिगत निर्णय औपचारिक रूपमा लिएको छैन । आगामी जेठ १५ गते संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुसार बजेट भाषणपछि मात्रै कर ‘बढ्ने वा नबढ्ने’ निश्चित हुनेछ ।
तर, बजेट सार्वजनिक नहुँदासम्मको अन्योलले बजारमा व्यापक असर भने पारिरहेको छ । व्यापारीहरू अहिले नै ठूलो संख्यामा गाडी भित्र्याएर स्टक राख्ने होडमा छन् ।
कर साँच्चिकै बढ्ने हो भने उपभोक्ताले अझै केही महिना महँगो मूल्यमा ईभी खरिद गर्नुपर्ने अवस्था आउन सक्छ । आगामी बजेटले विद्युतीय सवारीको भविष्य कस्तो मोडमा जाने हो भन्नेमा सबैको नजर लागिरहेको छ ।

कुन महिना कति ईभि नेपाल भित्रिए ?
चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाखसम्म) भने कुल २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरका ९ हजार ८५९ वटा इभि नेपाल भित्रिएका छन् ।
हाल नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभी आयात हुँदै आएका छन् ।
विभागका अनुसार गत चैतमा १ अर्ब ९७ करोड २५ लाख रुपैयाँ बराबरको ८७८ वटा इभि आयात भएका थिए ।
यस्तै, फागुनमा १ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ बराबरको ८३३ वटा, माघमा १ अर्ब ६४ करोड २३ लाख रुपैयाँ बराबरको ७७६ वटा, पुसमा १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ बराबरको ७८३ वटा इभि आयात भएका थिए ।
गत मंसिरमा २ अर्ब ९० करोड ११ लाख रुपैयाँ बराबरको १ हजार २१० वटा, कात्तिकमा २ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बराबरको ९६९ वटा, असोजमा २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बराबरको ९१६, भदौमा २ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको १ हजार २२१ वटा र साउनमा ८९ करोड ९७ लाख रुपैयाँ बराबरको ३८१ वटा इभि नेपाल आएका थिए ।