नेपाल आइपुग्यो एमजीको नयाँ हिट मोडल ‘विन्डसर ईभी’: अब केही दिनमै बिक्री सुरु, मूल्य कति ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

नेपाल आइपुग्यो एमजीको नयाँ हिट मोडल ‘विन्डसर ईभी’: अब केही दिनमै बिक्री सुरु, मूल्य कति ?



काठमाडौँ । एमजी ‘विन्डसर ईभी’ नेपाल भित्रिएको छ । नेपालका लागि एमजीको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले विन्डसर मोडलको नयाँ ईभी नेपाल भित्र्याएको हो ।

‘जेडएस’ इभीको अपार सफलतापछि एमजीले ल्याएको विन्डसर मोडलको ईभी नेपाल भित्रिए पनि औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन् ।

कम्पनीका अनुसार अब केही दिनमै यसको औपचारिक लन्च हुनेछ । यसको मूल्यमा पनि अहिलेसम्म तय भइनसकेको कम्पनीले जनाएको छ । हाल नेपालमा विन्डसर ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले एक्साइट, एक्सक्लुसिभ गरि दुई भेरियन्टमा उपलब्ध हुने छ । ‘एमजी ‘विन्डसर ईभी’ नेपाल आइसकेको छ । दुई भेरियन्टमा उपलब्ध हुने यो गाडी अब हामी केही दिनमै यसको औपचारिक लन्च गर्ने तयारी छ’, कम्पनी स्रोतले भन्यो ।

यद्यपि, अहिले मूल्य कति निर्धारणकै चरण रहेको कम्पनीले जनाएको छ । मूल्य निश्चित गरेर मात्रै यसको नेपालमा औपचारिक लन्च गर्ने कम्पनीको तयारी छ । कम्पनी स्रोतले भन्यो,‘अहिले हामी मूल्य निर्धारणकै चरणमा छौं । मूल्य निश्चित गरेरसँगै यसको नेपालमा औपचारिक लन्च हुनेछ । अब केही दिनमै यसको लन्चसँगै बिक्री सुरु हुनेछ ।’

एमजी ‘विन्डसर ईभी’को मूल्य ४० लाख रुपैयाँ हाराहारीमा तोकिने छ ।

हाल भारतीय बजारमा भने एक्साइट भेरियन्टको मूल्य १३ लाख ९९ हजार ८०० भारु तोकिएको छ । यता, एक्सक्लुसिभ भेरियन्टको १५ लाख ४ हजार ८०० भारु तोकिएको छ ।

लक्जरी फिचर, शक्तिशाली मोटर र नेपाली बजारमा नयाँ विकल्प

विन्डसर एक स्टायलिस र व्यावहारिक मल्टि युटिलिटी भेहिकल (एमयूभी) हो, जुन शहरी सडक र तराई क्षेत्रका लागि निकै उपयुक्त छ । सेडानको झल्को दिने डिजाइन र प्रिमियम इन्टेरियरसहित विन्डसर चढ्ने व्यक्तिको शैली र शान दुबै झल्किन्छ । ‘विन्डसर ईभी’ आधुनिक डिजाइन र सुविधाले भरिएको मोडल हो ।

यसमा चालक र यात्रुको सुविधा बढाउन वायरलेस चार्जिङ, अटोमेटिक एयर कन्डिशन, विद्युतीय रूपमा एड्जस्ट गर्न सकिने अगाडिको सिट, पावर टेलगेट सुविधा छन् । यसका साथै ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ प्रणाली, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेराजस्ता सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

गाडीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर राखिएको छ, जसको पीकटर्क २०० एनएम रहेको छ ।

कम्पनीका अनुसार यो गाडीले एक पटकको पूरै चार्जमा अधिकतम ३३१ किलोमिटरसम्म यात्रा गर्न सक्छ भने सहरी परीक्षणमा यसको रेन्ज ३२७ किलोमिटर मापन गरिएको छ ।

कुल ४२९५ मिलिमिटर (एमएम) लामो र २१२६ एमएम फराकिलो यो गाडीको उचाइ १६७७ एमएम छ । गाडीमा पाँच जना आरामले बस्न मिल्छ । १८६ एमएम ग्राउण्ड क्लियरेन्स भएको यो गाडीको ह्विलबेस २७०० एमएममात्रै छ । यसले गर्दा सानातिना खाल्डाखुल्डि र बर्खाको बाटोमा पनि गाडी कुदाउन अप्ठेरो पर्दैन ।

विन्डसरको डिजाइन पनि विशेष बनाइएको छ । फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस फिनिस र एलईडी लाइटहरू प्रयोग गरिएको छ । अगाडिको भागमा ठूलो ग्रिल प्रयोग गरिएको छ, जसले यसलाई अलग पहिचान दिन्छ । गाडीमा १८ इन्चको अलोय ह्वील राखिएको छ ।

पछाडि सिट यात्रुलाई बढी आराम मिलोस् भनेर सिटलाई १३५ डिग्रीसम्म झुकाउन मिल्ने बनाइएको छ । साथै, गाडीमा ठूलो पानारोमिक सनरूफ दिइएको छ, जसले इन्टेरियरलाई अझै आकर्षक बनाएको छ ।

इन्टेरियर सुविधामा पनि नयाँ प्रविधि समावेश गरिएको छ । ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जसले प्रयोगकर्तालाई आधुनिक डिजिटल अनुभव दिन्छ । एमजी विन्डसर ईभीले नेपालमा विद्युतीय गाडीको बजारमा नयाँ आकर्षण थप्ने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्