सवारी आयात निर्देशिका बारे नाडा र विभागबीच छलफल, नीति बदल्ने संकेत « Arthapath.com
१७ असार २०८२, मंगलबार

सवारी आयात निर्देशिका बारे नाडा र विभागबीच छलफल, नीति बदल्ने संकेत



काठमाडौं । नेपालमा सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी स्पष्ट नीति बनाउन विभागले अगाडि सारेको ‘सवारी साधन निर्देशिका २०८२’ का सम्बन्धमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन नाडा र यातायात व्यवस्था विभागबीच विस्तृत छलफल भएको छ ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग आज काठमाडौंमा भेटघाट गर्दै प्रस्तावित निर्देशिकामा समेटिएका विषयहरूबारे आफ्ना धारणा र सुझावहरू राखेको छ ।

अध्यक्ष चौधरीले विभागको तयारीको प्रशंसा गर्दै प्रस्तावित निर्देशिका कार्यान्वयन अघि सरोकारवालाबीच गहन छलफल अपरिहार्य रहेको बताए । उनले नीतिगत स्पष्टता र व्यावहारिकता सुनिश्चित गर्न नाडा र विभागबीच सहकार्यको खाँचो औंल्याए ।

छलफलमा सहभागी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले समेत केही बुँदाहरू थप स्पष्ट र व्यावहारिक बनाइनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै चरणबद्ध छलफल आवश्यक रहेको बताए ।

महासचिव सुरेन्द्रकुमार उप्रेतीले नीति निर्माणमा निष्पक्षता आवश्यक रहेको धारणा राख्दै, ‘गलत कार्य गर्नेहरूलाई दण्ड र सही कार्य गर्नेहरूलाई प्रोत्साहन’ दिने व्यवस्थाको माग गरे । उनले नेपालमै ब्याट्री उद्योगहरू स्थापना भइसकेको उल्लेख गर्दै आत्मनिर्भरता बढाउने अवसर नीतिमा प्रतिबिम्बित हुनुपर्ने बताए ।

सोही अवसरमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनका मापदण्डहरूसमेत अध्ययनमा समावेश गरिएको जानकारी गराए ।

छलफलको निष्कर्षस्वरूप महानिर्देशक पोखरेलले नेपालमा सवारी साधन आयातसम्बन्धी स्पष्ट नियमको अभाव रहेको भन्दै प्रस्तावित निर्देशिका त्यसैको समाधानका लागि तयार भइरहेको बताए । उनले नाडा जस्ता सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै नीति निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्