नाइमा एक्स्पोमा आर्कफक्स र चेरीका दुई प्रिमियम मोडलबीच महाभिडन्त, कुन बन्ला नेपालीको रोजाइ?
काठमाडाैं । नेपाली बजारमा विद्युतीय सवारीसाधनको प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला अब साना विद्युतीय कारको वर्गमा पनि रोचक भिडन्त सुरु हुने संकेत देखिएको छ।
आगामी साउन २७ देखि भदौ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी प्रदर्शनी–२०२६’ मा दुई नयाँ विद्युतीय साना कार आमनेसामने हुँदैछन्। एउटा हो आर्कफक्स टी–१ र अर्को चेरी क्यूक्यू–३ ।
एउटै मूल्य समूह र एउटै ग्राहक वर्गलाई लक्षित गरी आउन लागेका यी दुई मोडल प्रदर्शनीकै सबैभन्दा धेरै चासोकाे केन्द्र बनेका छन् ।
चिनियाँ बजारमा उपलब्ध विवरण र उपभोक्ता प्रतिक्रियाका आधारमा हेर्दा चेरी क्यूक्यू–३ किफायती मूल्यमा बढी सुविधा दिने सवारीका रूपमा चिनिन्छ भने आर्कफक्स टी–१ केही बढी स्तरिय अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी विकास गरिएको मोडल हो। यही कारण पनि नेपाली बजारमा यी दुईबीचको प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ।
दुवै सवारीमा लिथियम फलाम फस्फेट प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षा, टिकाउपन र स्थायित्वका हिसाबले राम्रो मानिन्छ। त्यस्तै, दुवैले द्रुत विद्युतीय चार्जिङ सुविधा पनि उपलब्ध गराउनेछन्, जसका कारण छोटो समयमै ब्याट्री चार्ज गर्न सकिनेछ।
प्रविधिका हिसाबले पनि यी दुई सवारी एकअर्काभन्दा कम छैनन्। दुवैमा १५ इन्चभन्दा ठूलो स्पर्शमार्फत सञ्चालन हुने मनोरञ्जन तथा सूचना प्रदर्शन प्रणाली, कृत्रिम बुद्धिमत्तामा आधारित आवाजमार्फत सञ्चालन हुने सुविधा तथा युवा पुस्तालाई आकर्षित गर्ने आधुनिक बाह्य र भित्री डिजाइन समावेश गरिएको छ। मूल्य पनि एकअर्काको निकै नजिक रहने अपेक्षा गरिएकाले नेपाली बजारमा यी दुईबीच सीधा प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ।
आकारको हिसाबले भने आर्कफक्स टी–१ केही अगाडि देखिन्छ। यसको लम्बाइ ४ हजार ३ सय ३७ मिलिमिटर रहेको छ भने चेरी क्यूक्यू–३ को लम्बाइ ४ हजार १ सय ९५ मिलिमिटर मात्र छ। चौडाइमा पनि आर्कफक्स अगाडि छ। यसको चौडाइ १ हजार ८ सय ६० मिलिमिटर छ भने चेरीको १ हजार ८ सय ११ मिलिमिटर रहेको छ।
दुवै सवारीको पाङ्ग्राबीचको दूरीमा पनि आर्कफक्सले अग्रता लिएको छ। आर्कफक्सको दूरी दुई हजार सात सय ७० मिलिमिटर छ भने चेरीको दुई हजार सात सय मिलिमिटर रहेको छ। उचाइको हिसाबले भने चेरी क्यूक्यू–३ करिब एक मिलिमिटरले मात्रै अग्लो छ, जसले व्यवहारिक प्रयोगमा खासै फरक पार्ने देखिँदैन।
ब्याट्री र मोटर क्षमतामा पनि दुवैबीच निकै कडा प्रतिस्पर्धा छ। चेरी क्यूक्यू–३ मा ४१ दशमलव ३ किलोवाट–घण्टा क्षमताको ब्याट्री र ९० किलोवाट क्षमताको विद्युतीय मोटर रहने अपेक्षा गरिएको छ। उता आर्कफक्स टी–१ मा ४२ दशमलव ३ किलोवाट–घण्टा क्षमताको ब्याट्रीसँगै ९५ किलोवाट क्षमताको मोटर उपलब्ध हुने बताइएको छ।
नेपाली सडक र भौगोलिक अवस्थालाई आधार मान्दा दुवै सवारीले एकपटक पूर्ण चार्ज गर्दा करिब तीन सयदेखि तीन सय ५० किलोमिटर सम्म सहज रूपमा यात्रा गर्न सक्ने अनुमान गरिएको छ।
समान प्रकृतिको ब्याट्री, झण्डै उस्तै दूरी पार गर्ने क्षमता, अत्याधुनिक सुविधा र प्रतिस्पर्धी मूल्यका कारण आर्कफक्स टी–१ र चेरी क्यूक्यू–३ अब नेपाली विद्युतीय साना कार बजारका सबैभन्दा बलिया प्रतिस्पर्धीका रूपमा उदाउने निश्चित देखिएको छ। यही कारण आगामी नाइमा नेपाल मोबिलिटी प्रदर्शनीमा यी दुई मोडलमाथि सर्वाधिक नजर रहने अपेक्षा गरिएको छ।













