व्यापार, लगानी र कर्जा विस्तारमा एकसाथ दबाबः राष्ट्र बैंकले औँल्यायो युद्धदेखि आन्दोलनसम्मको असर « Arthapath.com
२३ असार २०८३, मंगलबार

व्यापार, लगानी र कर्जा विस्तारमा एकसाथ दबाबः राष्ट्र बैंकले औँल्यायो युद्धदेखि आन्दोलनसम्मको असर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको कार्यान्वयनका क्रममा अर्थतन्त्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरेकाे छ।

अन्तर्राष्ट्रिय युद्धदेखि आन्तरिक राजनीतिक अस्थिरतासम्मका घटनाले आर्थिक गतिविधि प्रभावित हुँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिए पनि कर्जा विस्तार हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ।

प्रतिवेदनअनुसार विश्व भूराजनीतिक तनाव, विशेषगरी अमेरिका–इजरायल र इरानबीचको युद्धले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो असर पारेको थियो। युद्धका क्रममा पेट्रोलियम पूर्वाधारमा क्षति पुग्नु, हर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना हुनु तथा आपूर्ति शृङ्खला प्रभावित हुँदा इन्धनको मूल्य बढेको र त्यसको प्रत्यक्ष असर विश्वव्यापी मुद्रास्फीतिमा परेको राष्ट्र बैंकले उल्लेख गरेको छ। साथै, व्यापार महसुलसँग सम्बन्धित अन्तर्राष्ट्रिय नीतिगत परिवर्तनले पनि विश्व अर्थतन्त्रमा अनिश्चितता थपेको प्रतिवेदनमा उल्लेख छ।

आन्तरिक रूपमा पनि नेपाली अर्थतन्त्रले कम चुनौती भोगेन। ढिलो भित्रिएको मनसुन र असोज महिनाको अत्यधिक वर्षाका कारण कृषि उत्पादनमा गिरावट आयो भने २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनपछिको असहज अवस्थाले आर्थिक गतिविधिलाई थप प्रभावित बनायो। निजी क्षेत्रको मनोबल कमजोर बन्दा उद्योग–व्यवसाय विस्तार हुन नसकेको र समग्र मागमा समेत दबाब परेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिवेदनमा वैदेशिक व्यापारमा आएको संकुचन, सार्वजनिक तथा निजी निर्माण क्षेत्रको सुस्तता, घरजग्गा कित्ताकाटसम्बन्धी अन्यौल तथा विद्युत् खरिद सम्झौतामा देखिएको अनिश्चितताले बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नुका साथै विगतमा प्रवाह भएका कर्जाको गुणस्तर कमजोर बन्दै जाँदा निष्क्रिय कर्जाको अनुपात बढेको छ। यसले बैंकहरूको नयाँ लगानी गर्ने क्षमता समेत घटाएको प्रतिवेदनले औंल्याएको छ।

यता, विप्रेषणबाट ठूलो परिमाणमा रकम वित्तीय प्रणालीमा भित्रिइरहे पनि त्यसअनुसार कर्जा र लगानी विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रह्यो। यसले मौद्रिक व्यवस्थापनलाई समेत थप चुनौतीपूर्ण बनाएको राष्ट्र बैंकको निष्कर्ष छ।

समग्रमा, राष्ट्र बैंकको वार्षिक समीक्षा प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा बाह्य र आन्तरिक दुवै प्रकारका चुनौती एकैसाथ देखा पर्दा नेपाली अर्थतन्त्र अपेक्षित गतिमा अघि बढ्न नसकेको, जसको प्रत्यक्ष असर बैंकिङ प्रणाली, लगानी, कर्जा विस्तार र समग्र आर्थिक गतिविधिमा परेको स्पष्ट पारेकाे छ।


प्रतिक्रिया दिनुहोस्