मेगा बैंक १०औं बर्षमा प्रवेश, एक शाखा एक छात्रावृत्तिको घोषणा « Arthapath.com
१७ असार २०८२, मंगलबार

मेगा बैंक १०औं बर्षमा प्रवेश, एक शाखा एक छात्रावृत्तिको घोषणा



Mega Bank

काठमाडौं । मेगा बैंकले आफ्नो ९ बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको छ । ९ बर्षको दौरानमा बैंकले हरेक सुचकमा उच्च प्रगति गरेको बैंकले जानकारी दिएको छ ।

बार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको जानकारी दिएका छन । ‘विगत ९ वर्षसम्मको समीक्षा गर्दा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणाले वृद्धि गरेको छ,’ उनले भने, ‘यस्तै कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ । उनले जुन उद्देश्यका साथ ९ वर्षअघि बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको अनुभुति गरेको जानकारी दिएका छन ।

बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग तथा स्थानीय तहहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको समेत अध्यक्ष शाहले जानकारी दिए । सोही अनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रिय कार्यालय सहित ७ वटै प्रदेशहरुमा आफ्नै घर—जग्गामा प्रादेशिक कार्यालय संचालन गर्ने कार्य योजना रहेको बताए ।

‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने गरी काम अघि बढीरहेको छ,’ उनले भने, ‘सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गर्ने योजना समेत रहेको छ ।’ उनले आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति बैंकले लिएको जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै उनले मर्जरलाई नजिकबाट नियालिरहेको समेत बताएका छन । उनले सोही अनुरुप मर्जर कमिटी बनिसकेको र मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढ्ने बताएका छन ।

कार्यक्रममा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताए । ‘एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ उनले भने, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौँ ।’ मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले जानकारी दिए । छोरीहरुको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट १/१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको बताए ।

‘हाम्रो यस अभियानबाट छनौट भएका बालिकाहरुले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भनिन ‘बालिकाहरुको उज्ज्वल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुने हाम्रो विश्वास छ यसै वर्ष यस कार्यक्रम मार्फत बैंकले आर्थिक रुपमा कमजोर १ सय २ जना छात्राहरुलाई समावेश गरिसकेको छ । आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसंगै बढ्दै जानेछ ।’

Tags :

प्रतिक्रिया दिनुहोस्