एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानीमा सहमती

काठमाडौं । एन आई सी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
बैंकले डिजिटल भुक्तानीलाई व्यापक बनाउदै गएका बेला सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने दावी गरिएको छ ।
समझदारी अनुसार सूर्या लाइफका ग्राहकहरुले बैंकका QR Code, Card POS, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत डिजिटल भुक्तानीका माध्यमबाट रकम भुक्तानी गर्न सक्ने छन । समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने छन भने भीड रहित र सरल सेवा पनि पाउने छन् ।
आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गरिने भएको छ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिएअनुसरा एन आइ सी एशियाले पनि डिजिटल भुक्तानी बढाउदै गएको छ । हाल मुलुकभर ३ सय १३ शाखा कार्यालय, ४ सय ४१ एटिएम, १ सय ४ एक्स्टेन्सन काउण्टर र ४८ वटा शाखारहित बैंकिङ्ग सेवा दिदैँ आएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा करिब २१ लाख ग्राहकहरु रहेका छन् ।
बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।