कुमारी बैंकले ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नामको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यो सूचना जारी गरेको हो ।
यस शेयर खरिदका लागि पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदनका लागि काठमाडौं–१, नक्साल, नागपोखरीस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टङ्गालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । यदि तोकिएको ३५ दिनको म्यादभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नपरेमा, बैंकले ती शेयरहरू संस्थापक भन्दा बाहिरका व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।















