आरम्भ र चौतारी लघुवित्तको मर्जर असार २२ गते, अध्यक्षमा पोखरेल र सिईओमा घिमिरे
काठमाडौं । आरम्भ लघुवित्त वित्तिय संस्था लि र चौतारी लघुवित्त वित्तिय संस्था लि विच मर्जर हुने भएको छ । दुबै संस्थाले साधारणसभा गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।
यही असार २२ गते दुबै संस्थाले एकीकृत कारोबार गर्ने तयारी गरेका छन । दुई संस्था मर्जर भएपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।
मर्जर प्रश्चात अध्यक्ष र सिईओ चौतारी लघुवित्त कम्पनीकै रहने समझदारी भएको बताइएको छ । हाल चौतारी लघुवित्तबाट अध्यक्ष जगतबहादुर पोखरेल र सिईओ लक्ष्मण घिमिरे रहेका छन । आरम्भ लघुवित्तमा सिईओ रहेका पवनकुमार श्रेष्ठ डेपुटी सिईओ रहने भएका छन ।
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई मर्जरमा लैजाने निती लिएसंगै धमाधम लघुवित्त कम्पनीहरु मर्जरको लागी तयार भएका हुन । चौतारी र आरम्भ लघुवित्त १:१ बराबर सेयर स्वप रेसियोमा मर्ज गर्न तयार भएका हुन ।
गत पुस ९ गते दुबै संस्थाले एकैदिन साधारणसभा सम्पन्न गरी मर्जर प्रस्ताव पारित गराएका हुन । दुई संस्थाको मर्जर प्रश्चात चुक्ता पूँजी २६ करोड ३४ लाख हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।
चौतारी र आरम्भले एकै वर्ष नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तिय संस्थाको रुपमा संचालन अनुमति पाएका हुन । चौतारीको हाल चुत्तापुँजी १९ करोडभन्दा बढी छ भने आरम्भको ६ करोड ४४ लाख रहेको छ ।