१८ बैंकबाट शून्य ब्याजमा १५ लाखसम्म ऋण पाईने

काठमाडौं । कोरोना भाइरसका कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना पीडित व्यवसायीलाई राहतस्वरुप ३ वर्षे अवधिका लागि ५० हजारदेखि १५ लाखसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले त्यसका लागि १ अर्बको कोष स्थापनासमेत गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इन्दु घिमिरे र नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख ईश्वरीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री गुरुङले कोरोनाको कारण थला परेका पर्यटन, सार्वजनिक यातायातलगायतका व्यवसाय एवं साना तथा मझौला उद्योगको संरक्षणका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
कोषले उत्पादनमा वृद्धि भई जनता र निजी क्षेत्रबीच विश्वास बढ्ने बताउँदै ऋणीले तिर्नुपर्ने ब्याज रकम प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । लघु घरेलु तथा साना उद्यम व्यवसाय र साना पर्यटन व्यवसाय कर्जाका लागि न्यूनतम एक लाखदेखि १५ लाख रुपैयाँसम्म, साना यातायात व्यवसाय र सेवा व्यवसाय कर्जाका लागि ५० हजारदेखि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ ।
प्रदेशअन्तर्गत विभिन्न पालिकामा रहेका १८ वटा वाणिज्य बैंकका ४८० वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि कर्जाको निवेदन दिन सकिने अन्य आवश्यक तयारी कार्यविधिमा उल्लेख गरिएको छ । कर्जाको साँवा भुक्तानी तालिका बैंक आफैले ऋणिको आय र नगद प्रवाहको आधारमा तय गर्नसक्ने छन् । ऋणीले शुरुको छ महिना किस्ता तिर्न नपर्ने व्यवस्था मिलाइएको सचिव घिमिरेले जानकारी दिए । नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख भट्टराईका अनुसार आवेदन दिएको अन्तिम मितिको २२ दिनभित्र निवेदकले ऋण पाउने वा नपाउने जानकारी प्राप्त गर्ने छन् । कर्जा लिन चाहने व्यक्ति गण्डकी प्रदेशभित्र नै व्यवसाय सञ्चालन गरेको हुनुपर्ने, बैंङक कसूर र कालोसूचीमा नपरेको, स्थायी लेखा नम्बर लिएको, गण्डकी प्रदेशका जुनसुकै स्थानीय तहमा एक वर्ष अघि दर्ता भएको हुनुपर्ने प्रभावधान सम्झौतापत्रमा उल्लेख गरिएको छ ।