शेयर बजार उचालिए पछि ऋणीले धमाधम तिरे ऋण, बैंकको लाभांश बढ्ने सुनिश्चित « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

शेयर बजार उचालिए पछि ऋणीले धमाधम तिरे ऋण, बैंकको लाभांश बढ्ने सुनिश्चित



काठमाडौं । कोरोना महामारीले गत सालभन्दा निकै बढी मानवीय क्षति पुर्याएको यो वर्ष अर्थतन्त्र भने तुलनात्मक रुपमा मजबुत देखिएको छ । बैंकरहरुका अनुसार हिजोसम्ममा ९० प्रतिशतभन्दा बढी कर्जा अशूली भइसकेको छ । ‘होटेल, रेस्टुरेण्टहरुले केही कम कर्जा तिरेको भए पनि बाँकी सबै क्षेत्रबाट ऋण उठेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् ।

बैंकरहरुका अनुसार यो वर्ष ऋण अशूलीमा शेयर बजारले निकै ठूलो सहयोग गरेको छ । शेयरमा ३ देखि ४ गुणासम्म नाफा भएपछि लामो समय सेवा बन्द गरेर बसेका यातायात व्यवसायिले समेत बैंकको ऋण तिरेका छन् । गत वर्ष राष्ट्र बैंकले पुस मसान्तसम्म ऋण तिर्न भनेको थियो । त्यसो गर्दा पनि यति उच्च दरमा सावाँब्याज उठेको थिएन ।

ऋण अशुलीको यो उत्साहजनक परिणामले कोरोना कालकै बीच बैंकहरुको लाभांश बढ्ने निश्चित भएको छ । बैंकरहरु वितरणयोग्य मुनाफा औसत २५ देखि ३० प्रतिशतसम्म बढ्नसक्ने बताउँछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला समग्र बैंकिङ क्षेत्रको वितरणयोग्य मुनाफा उल्लेख्य बढ्ने बताउँछन् ।

गत वर्ष राष्ट्र बैंकले ऋणीलाई २ प्रतिशत विन्दुका दरले ब्याजदर घटाउन निर्देशन दिएको, किस्ता तिर्ने म्याद लामो समय स्थगत गरेको र कतिपय नियामकीय छुटहरु दिँदा बैंकहरुको नाफा बृद्धिदर संकुचित भएको थियो । नयाँ लेखा प्रणाली अनुसार खराब कर्जाभन्दा बाहेकको ऋणको ब्याज नउठे पनि बैंकले आम्दानी देखाउन पाउँछन् । यसरी हिसाब गर्दा ब्याज नउठे पनि नाफा बढेको देखिन्छ ।

तर राष्ट्र बैंकको अतिरिक्त व्यवस्थाले त्यसरी हिसाबमा मात्रै नाफा भएको, तर पैसा प्राप्त नभएको अवस्थामा शेयर धनीले लाभांश प्राप्त गर्न सक्दैनन् । यही कारण गतवर्ष बैंकहरुको नाफा बढेको देखिए पनि धेरैले लाभांशको दर बढाउन सकेनन् । यो वर्ष भने बजारबाट पैसै उठेकाले बैंकहरुलाई नाफा बाँड्न सजिलो पर्ने भएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बढीभन्दा बढी पैसा लगानी गर्न सक्ने छुट दिएको छ । यसले बैंकहरु तरलता नै नभएको अवस्थामा राष्ट्र बैंकबाट सापटी लिएरै लगानी गर्ने परिस्थिति बनेको छ । पछिल्लो समय ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेभन्दा कम विन्दुमा झरे छ । तैपनि बढी पैसा लगानी भएको, ब्याज छुटजस्ता योजना कार्यान्वयन गर्न नपरेको र समयमै सावाँ ब्याज अशूली भएकाले यो वर्ष बढी नाफा बाँड्नसक्ने अवस्थामा बैंकहरु पुगेको बैंकरले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्