बैङ्क अफ काठमान्डुको सीईओमा श्रवण मास्के नियुक्त, ३६ वर्षे बैङ्किङ अनुभव

काठमाडौँ । बैङ्क अफ काठमान्डुको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्केलाई नियुक्त गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले बैङ्कका सीईओमा श्रवणलाल मास्केलाई नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ मास्केले साउन महिना देखी कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैङ्कको नेतृत्व दिँदै आएका थिए । यसअघि बैङ्कका सीईओ रहेका शोभनदेव पन्तले कार्यकाल बाँकी छदै राजीनामा दिएका थिए ।
सन् १९८५ मा नबिल बैङ्कबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । श्रवणलाल आफ्नो कार्यकालमा बैङ्क अफ काठमान्डुलाई थप सबल, सफल तथा अझै सुदृढ बैङ्कको रूपमा स्थापित गराउन आफ्नो प्रमुख भूमिका रहने जानकारी गराए ।
लुम्बिनी बैङ्क र बैङ्क अफ काठमान्डु मर्जरपछि बैङ्कमा देखिएको विवाद बिस्तारै समाधान हुँदै आएको छ । बजारमा शाखा सञ्जाल र व्यवसायको हिसाबले कमजोर रहेको बिओकेलाई बजारमा प्रतिस्पर्धी बैङ्क बनाउनुपर्ने चुनौती मास्केको काँधमा रहेको छ ।