एकै पटक ३३ शाखा विस्तार गर्ने योजनामा राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंकले एकसाथ ३३ नयाँ शाखा कार्यालयहरु स्थापना गर्ने योजना अघि सारेको छ । बैंकले गत वर्ष नै शाखा संख्या २९० पुर्याउने कार्ययोजना बनाएएको बताए । हाल बैंकको २५७ शाखा छन् ।
अहिले पनि ७७ मध्ये ९ जिल्लाका सदरमुकाममा बैंकको शाखा खोल्न नसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कीरणकुमार श्रेष्ठले बताए । उनका अनुसार ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, सल्यान, रोल्पा, सिराहा, प्युठानलगायतका जिल्ला सदरमुकाममा राष्ट्रिय बाणिज्य बैंकको कुनै शाखा छैनन् ।
बैंकका कर्मचारी अभावका कारण योजना अनुसार शाखा विस्तार गर्न नकिएको सीईओ श्रेष्ठले जानकारी दिए । उनले अहिले २९०० हाराहारी कर्मचारी आवस्यक भए पनि २१०० जनामात्रै कर्मचारी भएका कारण शाखा विस्तारमा ढिलाई भएको बताए ।
सरकारी बैंकका कर्मचारीले ३० वर्षभन्दा बढी जागिर खान पाउँदैनन् । उमेरले ५८ वर्ष नाघेपछि पनि उनीहरु अनिवार्य अवकाश हुन्छन् । उमेर कार्यावधीको यो हदबन्दीले कर्मचारी अवकाश पाउँदै जाने अवस्था छ । तर नयाँ कर्मचारी भर्ना गर्न चाहीँ कठीन छ ।
बैंकले २०७५ सालमै ६६१ जना नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन गरेको थियो । तर त्यस विज्ञापनविरुद्ध अदालतमा मुद्दा परेपछि मुद्दा टुंगो लाग्नै २ वर्ष लाग्यो । बैंकले मुद्दा जिते पनि नियमावली संशोधन गरेरमात्रै विज्ञापन खोलनुपर्ने अवस्था आयो । यही कारण हालैमात्र नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन माागिएको श्रेष्ठ बताउँछन् ।
सीईओ श्रेष्ठले अब कुनै समस्या नआए कर्मचारी भर्ना प्रक्रिया पूरा हुन अझै ५ महिनामा लाग्ने बताए । त्यसपछि शाखा विस्तारको पुरानो योजना पुनः अघि बढ्ने श्रेष्ठले बताए ।