२७ वाणिज्य बैंकमध्ये काठमाडौं जिल्ला बाहिर छैन् केन्द्रिय कार्यालय, राष्ट्र बैंक भन्छः ‘कहाँ हुनुले केही फरक पर्दैन’ « Arthapath.com
८ असार २०८३, सोमबार

२७ वाणिज्य बैंकमध्ये काठमाडौं जिल्ला बाहिर छैन् केन्द्रिय कार्यालय, राष्ट्र बैंक भन्छः ‘कहाँ हुनुले केही फरक पर्दैन’



काठमाडौं । नेपालमा विभिन्न वाणिज्य बैंकहरू सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार २७ वटा वाणिज्य बैंकहरू सञ्चालन छन् । २७ वटा वाणिज्य बैंकहरूमा सबैभन्दा जेठो नेपाल बैंक लिमिटेड हो भने कान्छो बैंकका रुपमा एनएमबि बैंक लिमिटेड छ । ३२ वटा वाणिज्य बैंकहरूबाट मर्ज हुँदै २७ वटा पुगेका छन् । तर यी २७ वटा वाणिज्य बैंकहरूको केन्द्रिय कार्यालय काठमाडौंमा मात्रै छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २७ वटा वाणिज्य बैंकको केन्द्रिय कार्यालय काठमाडौं जिल्लामा मात्रै सीमित छन् । 

यसअघि काठमाडौं बाहिर केन्द्रिय कार्यालय भएका वाणिज्य बैंकहरूको केन्द्रिय कार्यालय काठमाडौंमा नै सारेका छन् । यसअघि माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालय पोखरा थियो । तर हाल बैंकको केन्द्रिय कार्यालय एमबिएल, टावर लाजिम्पाटमा छ ।  

त्यस्तै, एनसीसी बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंमा रहेको छ । यसअघि बैंकको केन्द्रिय कार्यालय वीरगञ्जमा थियो । त्यस्तै, लक्ष्मी बैंकको केन्द्रिय कार्यालय यसअघि वीरगञ्जमा थियो हाल हात्तीसार काठमाडौंमा रहेको छ । तत्कालीन एन एनआईसी बैंकको केन्द्रिय कार्यालय विराटनगरमा थियो भने मर्जरपश्चात् थापाथली काठमाडौंमा रहेको छ । 

राष्ट्रिय बैंक भएको हुनाले काठमाडौंमा केन्द्रिय कार्यालय हुनु स्वभाविक भएको कृषि विकास बैंकका सीईओ अनिल कुमार उपाध्यायले बताए । सानो देश भएकाले धेरै कुराहरू नियामक निकाय राष्ट्र बैंकसँग सम्पर्कमा रहनुपर्ने भएकाले काठमाडौंमा नै केन्द्रिय कार्यालय राखिएको सीईओ उपाध्यायको भनाई छ । उनले भने, “‘क’ बर्गका बैंक राष्ट्रिय स्तरका हुन्, सानो देश छ, धेरै कुराहरू राष्ट्र बैंकसँग तथा रेगुलेटरसँग सम्पर्कमा बस्नुपर्छ, बैठक, मिटिङ, कार्यक्रमहरूमा पनि सहभागी हुनुपर्छ ।” पहुँचका आधारमा पनि केन्द्रिय कार्यालय राख्न सकिने उनले बताए । 

‘संस्थापक सेयरधनीहरूका इच्छा जहाँ हुन्छ, त्यहाँ नै केन्द्रिय कार्यालय राखेर काम गर्ने भन्ने योजना बनाएका हुन्छन् ।’ सीईओ शर्मा भन्छन्, ‘राजधानी सबैभन्दा ठूलो बिजनेश क्षेत्र भएकाले र सबै कुराहरूको पहुँच हुन्छ ।’ अन्य मुलुकहरूमा पनि केन्द्रिय कार्यालय केन्द्रमा नै हुने गरेको उनले बताए । 


पूर्व बैंकर्स अनलराज भट्टराईका अनुसार केन्द्रिय कार्यालय र शाखासँग केही मतलब नै हुँदैन । पहिले डिसिजन मेकिङ प्रोसेसमा स्टाण्ड अलोन ब्रान्च हन्थ्यो । शाखा भित्रबाट हेड अफिसमा कनेक्सन (चिठ्ठी, पैसा पठाउन) १५–१६ दिन लगाएर पैसा पठाउनुपर्ने अवस्था थियो । अहिले त्यो किसिमको अवस्था छैन् । राष्ट्र बैंकले विभिन्न ठाउँमा नोट कोषहरू राखेका छन् । सबै कारोबार अनलाइनबाट गर्न सकिन्छ । अहिले केन्द्रिय कार्यालयबाट डिसिजन मेकिङ मात्रै हो । डिसिजन मेकिङलाई शाखालाई पनि अथोरिटी दिएको हुन्छ । 

गाउँ गाउँमा सहकारी, माइक्रोफाइनान्स लगायत वित्तीय संस्थाले पनि सेवा दिइरहेको उनको भनाई छ । भट्टराई भन्छन्, ‘बैंक बस्ने भनेको शहरमा हो, बैंक बसेर शहर हुँदैनन्, बैंक भनेको ब्यापार हो, माछा मार्नलाई पोखरीमा नै जानुपर्छ ।’ केन्द्रिय बैंकको विकेन्द्रित नभएकाले सीईओहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहनु पर्ने पूर्व बैंकर्स भट्टराईले बताए । 

केन्द्रिय कार्यालय कहाँ हुनुले केही असर र फरक नपर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकाल बताउँछन् । “बैंकहरूले मुलुकभरि सेवा दिने हो, सबै बैंकले दिइरहेका छन्, काठमाडौं केन्द्रित भएर कुनै फरक पर्देन्,’ उनले भने ।

 


प्रतिक्रिया दिनुहोस्