एनएमबि बैंकको २६ औं साधारण सभा पुस २२ गते बोलायो

काठमाडौं । एनएमबि बैंकले पुस २२ गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब , टुँडिखेल, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १५ दशमलव ८ प्रतिशत लाभांश प्रस्तावलाई पनि अन्तिम रुप दिनेछ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६० हजारको आधारमा १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बोनस शेयरपछि बैंकको चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।