सनराइज बैंकले ल्यायो सहकारीका ग्राहकलाई डेबिट कार्ड, भारतमा र भुटानमा पनि प्रयोग गर्न सकिने « Arthapath.com
७ पुष २०७८, बुधबार

सनराइज बैंकले ल्यायो सहकारीका ग्राहकलाई डेबिट कार्ड, भारतमा र भुटानमा पनि प्रयोग गर्न सकिने



काठमाडौं । सनराइज बैंकले सहकारीका ग्राहकलाई पनि डेबिड कार्ड सेवा सुरु गरेको छ । आज एक कार्यक्रमका विच बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकको लागि ‘को–ब्रान्ड’ जारी गरेको हो ।कोसिस सफ्टवेयर, आइमार्क प्रालि र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग सहकार्य गरेर बैंकले सहकारीका ग्राहकलाई पनि डेबिट कार्ड सेवा सुरु गरेको हो ।

जारी हुने कार्डहरू सनराइज बैंकको स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बर अन्तर्गत जारी हुनेछ । ती कार्डहरू सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंक हुने छ ।

नेपाल राष्ट्र बैंकले चालु आवमा जारी मौद्रिक नीति मार्फत घोषणा गरेको ‘सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ’ लाई समेत परियोजनाले मूर्त रुप दिने अपेक्षा साथ सहकारीका ग्राहकले डेबिट कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ । यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुसंख्यक जनसंख्या लाभान्बित हुने हुँदा वित्तीय समावेशीतामा योगदान पुग्ने बैंकले जनाएको छ ।

भिसा ब्राण्ड अन्तरगत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशियामानै पहिलो अभ्यास हो । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त भिसा कार्ड भुटान र भारतमा पनि प्रयोग गर्न सकिन्छ । कार्ड जारी गर्न इच्छुक रहेका सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रालि वा बैंकमा सम्पर्क राखी सेवा प्राप्त गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्