हाइड्रोपावरदेखि एयरलाइन्ससम्मः यी हुन् ११ सहकारीका १०९ ठूला ऋणीहरू (सूचीसहति) « Arthapath.com
२ श्रावण २०८३, शनिबार

हाइड्रोपावरदेखि एयरलाइन्ससम्मः यी हुन् ११ सहकारीका १०९ ठूला ऋणीहरू (सूचीसहति)



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण नतिर्ने ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्दै तत्काल बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ ।

समितिको गत वैशाख २३ गतेको निर्णयअनुसार दोस्रो चरणमा ११ वटा समस्याग्रस्त सहकारीका १०९ जना ठूला ऋणीहरूको विवरण शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरेको नामावलीमा विभिन्न सहकारीबाट मोटो रकम लिएर नबुझाउने व्यक्ति तथा व्यावसायिक फर्महरू रहेका छन् । यी प्रत्येक संस्थाका ९ देखि १० जनासम्म मुख्य ऋणीहरूको नाम र ठेगानासहितको विवरण समितिको कार्यालयले बाहिर ल्याएको हो ।

कार्यालयका अनुसार तोकिएको समयभित्र सम्पर्कमा नआए र ऋण चुक्ता नगरे कानुन बमोजिम कडा कारबाही र असुलीको प्रक्रिया अघि बढाइनेछ ।

यसअघि वैशाख २४ गते १० वटा सहकारीका ९२ जना ऋणीहरूको नाम सार्वजनिक भइसकेको छ।

दोस्रो पटक नामावली सार्वजनिक गरिएका सहकारीहरूमा कृषि विकास बहुदेश्यीय, गोरखा सेभिङ्ग एण्ड क्रेडिट, लुनिभा बहुदेश्यीय र हाम्रो नयाँ कृषि सहकारी संस्था रहेका छन् ।

यसैगरी प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ्ग एण्ड क्रेडिट र शिव शिखर बहुदेश्यीय सहकारीका ऋणीहरूलाई पनि बक्यौता तिर्न सार्वजनिक आह्वान गरिएको छ । स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट र लालिगुराँस बहुदेश्यीय सहकारी संस्थाका ठूला ऋणीहरूको सूचीमा विभिन्न प्रतिष्ठित कम्पनीहरू समेत देखिएका छन् ।

लालिगुराँस बहुदेश्यीय सहकारीको ऋणी सूचीमा ‘एभिन्युज नेटवर्क’ जस्ता सञ्चार माध्यमका साथै भैरवकुण्ड हाइड्रोपावर, लक्ष्मी डेरी उद्योग र अग्नि एयर जस्ता कम्पनीहरू समावेश छन् । यस्तै पशुपति सेभिङ्गबाट ऋण लिनेमा अग्नि एयर प्रालि र सिपाडोल प्रोजेक्ट जस्ता व्यावसायिक फर्महरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्