हिमालयन बैंकको २६ प्रतिशत लाभांश पारित, मर्जर सम्बन्धी विशेष प्रस्तावमा मत नहाल्ने १४.०९ प्रतिशत « Arthapath.com
३० पुष २०७८, शुक्रबार

हिमालयन बैंकको २६ प्रतिशत लाभांश पारित, मर्जर सम्बन्धी विशेष प्रस्तावमा मत नहाल्ने १४.०९ प्रतिशत



काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९ औँ वार्षिक साधारणसभा पौष ३० गते, शुक्रबार समपन्न भएको छ । बैंकको वार्षिक साधारण सभा कोभिड—१९ को बढी रहेको कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सम्पन्न भएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७७–७८ वार्षिक प्रतिवेदन सहित सोहि आ.व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रसतव पारित गरेको छ ।

साथै हिमालयन बंैक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्विकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको छ । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटिएम र ५००० भन्दा बढी पीओएस टर्मिनल संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्