एनआईसी एशिया बैंकको ८ लाख ४१ हजार शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? « Arthapath.com
२ माघ २०७८, आईतवार

एनआईसी एशिया बैंकको ८ लाख ४१ हजार शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक समूहको शेयर आज (माघ २ गते, आइतबार) देखि बिक्रीमा खुला गरेको छ । बैंकले शेयर लिलाम बढाबढ गरी विभिन्न ४ कम्पनीको बिक्री खुल्ला गरेको हो ।

यसअघि पटक–पटक बिक्रीमा ल्याएको उक्त संस्थापक शेयर बिक्री नभएपछि पुनः बिक्री गर्न लागेको हो ।

बैंकले मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६५ कित्ता, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ हजार २५४ कित्ता र नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता गरी कूल ८ लाख ४१ हजार ९८५ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्तको प्रतिकित्ता ४८४ रुपैयाँ, आरएमडीसी लघुवित्त को प्रतिकित्ता ४९४ रुपैयाँ, नागरिक लगानी कोषको प्रतिकित्ता ११८३ रुपैयाँ र महुली लघुवित्तको प्रतिकित्ता ६४० रूपैयाँ मूल्य तोकिएको छ ।

लगानीकर्ताले उक्त शेयर खरिद गर्नको लागि आजदेखि माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको शेयरमा न्युनतम १ हजार कित्ता, महुली लघुवित्तको सेयरमा न्युनतम ५ सय कित्ता र नागरिक लगानी कोषको शेयरमा भने न्युनतम १ सय कित्ताका लागि आवेदन दिन सकिन्छ ।

बैंकले बिक्री गर्न लागेको उक्त संस्थापक शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र आरएमडीसी लघुवित्तको हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी कोषको सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्