सरकारले व्यक्तिमाथि नभएर संस्थामाथि आक्रमण गरेको होः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो काममा फर्किएको छन् । गभर्नर अधिकारीले बुधबारदेखि देखि आफ्नो काम सम्हालेका हुन् । उनी बुधबार बिहानै राष्ट्र बैंक फर्किएका हुन् ।
सरकारले गभर्नर अधिकारीलाई निलमबन गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले सरकारको उक्त निर्णय उल्ट्याएको हो । अधिकारीलाई मन्त्रिपरिषदको चैत २४ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो । तर सर्वाेच्च अदालतले मंगलबार उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका छन् । उनले पदबहाली गर्दै स्वायत्तता जोगिएको बताएका छन् । उनले भने, ‘सरकारले व्यक्तिमाथि आक्रमण गरेको होइन, स्वायत्तता प्राप्त संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य हुनु परेको हो, अदालतले स्वायत्तता जोगायो ।’
गभर्नर अधिकारीले सरकारले व्यक्ति महाप्रसाद अधिकारीमाथि आक्रमण नगरेर संस्थाविरुद्ध आक्रमण गरेको आरोप लगाएका छन् । उनले संस्थामाथि नै आक्रमण गरेपछि अदालत जान बाध्य भएको बताए ।
अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त रहेको उनले बताए । ‘अदालतको आदेशपछि पुर्नबहाली भए भन्दैमा मैले बायस भएर काम गर्न मिल्दैन, सरकारले सल्लाहकारको रुपमा दिने सरकालाई सुझाव दिने छु,’ उनले भने ।