तरलताको समस्या तत्काल समाधान हुँदैन्, ब्याजदर घट्दैनः गभर्नर अधिकारी « Arthapath.com
८ जेष्ठ २०७९, आईतवार

तरलताको समस्या तत्काल समाधान हुँदैन्, ब्याजदर घट्दैनः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा कायम तरलताको समस्या समाधान तत्काल नहुने बताएका छन् । अर्थतन्त्रका सूचकहरु नकारात्मक रहेकाले तरलताको समस्या समाधान तत्काल नहुने देखिएको गभर्नर अधिकारीले बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक अहिले पनि नकारात्मक रहेकाले तरलताको समस्या तत्काल समाधान नहुने देखिएको बताए । सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएकोले तरलताको समस्या पनि तत्काल समाधान नहुने उनको भनाई छ ।

साथै उनले कार्यक्रममा ब्याजदर तत्काल नघट्ने संकेत गरेका छन् । उपभोग घटाउनका लागि ब्याजदर बढाउने नीति लिएको उनले बताएका थिए । ‘नेपालमा मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छन् । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’

अर्थतन्त्र बचाउन सक्यो भने व्यवसाय गर्न मिल्ने भएकाले सर्तक भएर काम गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २–३ अर्ब डलरको रिजर्भ घट्नु गम्भिर विषय हो । सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ । अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय हो । सर्तक भएर काम गर्नुपर्ने छ ।’


प्रतिक्रिया दिनुहोस्