विदेशी लगानीकर्ता विभिन्न संस्थाहरूमा गएर देउसी भैलो खेल्न चाहदैनन्ः गभर्नर अधिकारी « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

विदेशी लगानीकर्ता विभिन्न संस्थाहरूमा गएर देउसी भैलो खेल्न चाहदैनन्ः गभर्नर अधिकारी



काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी लगानी भित्राउनका लागि सुविधाहरू सहज हुनुपर्ने बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ को ‘उत्पादन बढाउन विदेशी लगानीको अवसर’ विषयक सत्रमा बोल्दै गभर्नर अधिकारीले लगानी गर्दा विभिन्न किसिमका सुविधा आवश्यक पर्ने बताए । 

विदेशी लगानीकर्ताका लागि नेपालमा थुप्रै प्रक्रियागत झन्झट रहेको गभर्नर अधिकारी बताउँछन् । विभिन्न प्रक्रियागत झन्झटलाई राज्यले सहजीकरण गर्नुपर्ने उनले बताए । उनले भने, ‘विदेशी लगानीकर्ताले लगानी गर्दा विभिन्न सुविधा आवश्यक महसुस गर्छ । यहाँ आएर विभिन्न संस्थाहरूमा देउसी भैलो खेल्न चाहदैनन् । एउटा विषयले संस्थामा जानुपर्याे, अर्को विषयले अर्को संस्थामा जानुपर्याे । गभरमेन्टको क्लियरेन्सको लागि एक ठाउँ, बनको अर्काे, जग्गाको अर्काे । यी सबै झण्झटबाट उ मुक्त हुन चाहन्छ ।’ लगानीकर्ताले एउटै ठाउँबाट सबै खालको सेवा लिन चाहने गभर्नर अधिकारीले बताए ।  

विदेशी लगानी बढाउनका लागि राज्य र निजी क्षेत्रको धारणा परिवर्तन हुनुपर्नेमा उनको भनाई छ । विदेशी लगानी आउँदा हामी कमजोर हुन्छौं भन्ने धारणा निजी क्षेत्रमा रहेकाले उक्त सोच परिवर्तन गर्नुपर्ने गभर्नर अधिकारी बताउँछन् । साथै उनले विदेशी लगानीलाई निजी क्षेत्रले बाधकका रुपमा नभएर साधकका रुपमा लिनुपर्ने बताए । ‘हाम्रो मानसिकतामा परिवर्तन गर्नुपर्ने छ । सरकार मात्रै नभएर निजी क्षेत्रको पनि मानसिकता परिवर्तन गर्नुपर्छ । बाहिरबाट लगानी आउँदा प्राइभेट सेक्टरले के फिल गरिरहेको छ, मेजोरिटी अफ द क्रिसेस के छ भन्दा प्रतिस्पर्धाको डर मानिरहेको छ । त्यो लगानी ल्याउने बेनिफिट बारे उसले हेरिरहेको छैन् ।’ उनले भने, ‘त्यो लगानीले गर्दा म पनि कम्पिटिटिभ हुन्छु, म पनि प्राइसमा प्रतिस्पर्धा गर्न सक्छु, क्वालिटिमा प्रतिस्पर्धा गर्न सक्छु, मेरो पनि भोलि सुधार हुन्छ । एनसेल यहाँ आउँदा नेपाल टेलिकम कहाँ पुग्यो, पुग्यो ।’ 

नेपालमा नीतिगत अस्थिरता रहेकाले पनि अपेक्षित रुपमा विदेशी लगानी आउन नसकेको उनले बताए । ‘विदेशी लगानीकर्ताले निश्चित समयका लागि योजना बनाएर लगानी गर्न चाहन्छन् । पटक पटक नीति परिवर्तन हुँदा विदेशी लगानीकर्ताको कार्ययोजना नै प्रभावित हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्