राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगार बचतपत्र २०८४ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको हो ।
राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँ बराबरको बैदेशिक बचतपत्र बिक्री गर्ने भएको हो । उक्त बचतपत्रको अवधि ५ वर्ष रहेको छ । साथै ६–६ महिनामा ब्याजदर उपलब्ध गराईनेछ ।
उक्त बचतपत्र बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुले खरिद गर्न सक्नेछन् । साथै मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) ले मात्रै खरीद गर्न सक्नेछन् ।
उक्त बचतपत्र जेठ १८ गतेदेखि आषाढ ६ गतेसम्म बिक्री खुला गरिनेछ भने बचतपत्र निष्काशन आषाढ १३ गते गरिने छ ।
उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँ र बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार १३ गते हुने छ ।
