धौलागिरी लघुवित्तको आईपीओमा ७० गुणा बढीको आवेदन, ३० हजारले मात्र १० कित्ता पाउने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

धौलागिरी लघुवित्तको आईपीओमा ७० गुणा बढीको आवेदन, ३० हजारले मात्र १० कित्ता पाउने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा अन्तिम दिन (साउन २९ गते) सम्म ७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन आवेदन माग भन्दा ७०.४५ गुणा बढी हो ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाखको ३२।१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन खुला गरेका थियो ।

लघुवित्तले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्