गत बर्ष दुई खर्ब ५९ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

गत बर्ष दुई खर्ब ५९ अर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत



काठमाडौं । गत आर्थिक बर्ष २०७८/७९ मा दुई खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको सहुलियत कर्जा स्वीकृत भएको छ । जसमध्ये २ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँको कर्जा बक्यौता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सो अवधिमा १ लाख ४७ हजार ३ सय ९३ ऋणीले ब्याज अनुदानको सस्तो कर्जा प्राप्त गरेका छन् । सहुलियत कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार ५४५ ऋणीले एक खर्ब ३९ अर्ब २३ करोड कर्जा लिएका छन् ।

महिला उद्यमशीलअन्तर्गत ८४ हजार १ महिला उद्यमीले ७१ अर्ब रुपैयाँ कर्जा सुविधा लिएका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ८४७ ऋणीको तीन अर्ब ६६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७५ कात्तिक २० मा राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको हो । सुरुमा यो कर्जा स्वेच्छिक थियो । बैंकले प्रवाह गर्न नमानेपछि राष्ट्र बैंकले अनिवार्य व्यवस्था गरेको थियो ।

सुरुमा कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण गरी ७ प्रकारका कर्जामा ब्याज अनुदान दिइँदै आएको थियो ।

पछि युवा वर्ग स्वरोजगार, कपडा उद्योग र सीटीईभीटीबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम समेत थप गरी १० प्रकारको कर्जा कार्यक्रममा ब्याज अनुदान दिन थालिएको हो । जसअनुसार महिला उद्यमीमा ६ प्रतिशत र बाँकी सबै कर्जामा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्