तीन जीवन बीमा कम्पनीसहित ९ कम्पनीको साधारण सभा हुदैं, यस्ता छन् एजेण्डा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

तीन जीवन बीमा कम्पनीसहित ९ कम्पनीको साधारण सभा हुदैं, यस्ता छन् एजेण्डा



काठमाडौं । ३ वटा जीवन बीमा कम्पनी सहित ९ कम्पनीले साधारण सभाका लागि मिति तय गरेका छन् । विभिन्न कम्पनीले वार्षिक प्रतिवेदन माथि छलफल तथा लेखा परीक्षक नियुक्त जस्ता प्रस्ताव गरेका छन् ।
कम्पनीहरुको साधारण सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् भने मर्जर प्रस्ताव, पुँजी वृद्धि लगायतका विषयमा छलफल गरि पारित गर्ने छन् ।

नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सको २२औं बार्षिक साधारण सभा मंसिर ८ गतेका लागि बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल भिष्वा, विरगंज (पर्सा) मा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई प्रस्ताव गरेको प्रयोजन सहित चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलहरु गर्नेछ । साथै, उक्त सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ का वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने कार्यसूची समेत सभामा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स
मर्जर प्रस्ताव पारित गर्नेका लागि दुई इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकै दिन कात्तिक २८ गते वार्षिक साधारण सभा आव्हान गरेका हुन ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजे बस्ने गरी बोलाएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा बिहान ११ बजे सभा बोलाएका हुन् ।

यी दुई कम्पनी एक बराबर शून्य दशमलव ८२४५ कित्ता शेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२४५ कित्ता शेयर कायम हुनेछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार र ज्योति लाइफ इन्स्योरेन्सको चुक्तापूँजी र २ अर्ब ४२ करोड रहेको छ । मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई दुबै कम्पनीको सभाले स्वीकृति प्रदान गर्नेछ ।

दुबै कम्पनीको सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत गर्ने सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

कुमारी बैंक
कुमारी बैंकको २२औं बार्षिक साधारण सभा कात्तिक २१ गते लागि बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेगरी आव्हान गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छ । उक्त सभामा आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरीक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७८। २०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५(१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जाने तथा प्राप्ति गर्न सञ्चालक समतिबाट गठित मर्जर समिति गठन गर्ने समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने।गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

एनआईबिएल एस क्यापिटल
एनआईबिएल एस क्यापिटल लिमिटेडले १०औं वार्षिक साधारण सभा कात्तिक १८ गतेका लागि बोलाएको छ । असोज २६ गतेको सञ्चालक समितिको बैठकले सभा क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २० प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउनेछ । क्यापिटलले चुक्तापूँजी २७ करोडको आधारमा २० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साथै संचालक समितिको भत्ता बृद्धि, आर्थिक वर्ष २०७८।७९ मा कम्पनीको संस्थागत उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम १३ लाख १२ हजार ४१९ रुपैयाँ पारित गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेशन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

एशियन क्यापिटल
एशियन क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा कात्तिक २४ गतेका लागि बोलाएको छ । असोज २३ गते बसेको संचालक समितिको बैठकले सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिन ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस गर्ने कार्य सूची रहेको छ ।

लक्ष्मी क्यापिटल
लक्ष्मी क्यापिटलले वार्षिक साधारण सभा कात्तिक २७ गते गतेका लागि बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौंमा बिहानको ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) गरी १४ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको छ ।

सोल्टी होटल
सोल्टी होटल लिमिटेडले वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो

कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको गर्ने हुदाँ ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कात्तिक २३ गते बस्ने भएको छ । सभा रजिष्टर्ड कार्यालयमा साँझ ४ ः ३० बजे आव्हान गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आर्थिक २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्